नेताहरूको पढाइबारे अभिनेत्री काजोलको टिप्पणीले विवाद

डिसी नेपाल
२४ असार २०८० १५:४०
2.4k
Shares

काठमाडौं । अभिनेत्री काजोलले दिएको ‘नेताको पढाइ’ भन्ने अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ । धेरै प्रयोगकर्ताले उनलाई ट्रोल गर्न थालेका छन् । विवाद बढ्दै गएपछि काजोलले आफ्नो बयानमा स्पष्टीकरण दिएकी छिन् ।

उनले ट्वीटरमा लेखेकी छन्, ‘मैले शिक्षा र यसको महत्त्वबारे कुरा गरिरहेकी थिएँ । कुनै पनि नेतालाई बदनाम गर्ने मेरो उद्देश्य थिएन । देशलाई सही बाटोमा लैजाने केही महान नेताहरू छन् ।’

अभिनेत्री काजोल आफ्नो आगामी शो ‘द ट्रायल’ को बारेमा एक मिडिया संस्थासँग कुरा गरिरहेकी थिइन् । यस क्रममा उनले भारतको भविष्य र नेताहरूको शिक्षाको बारेमा बयान दिइन्।

उनको भनाइपछि नै सामाजिक सञ्जालमा बहस सुरु भएको छ । कतिपयले उनको आलोचना गरेका छन् भने कसैले समर्थन गरेका छन् ।

मिडिया इन्स्टिच्युटसँगको कुराकानीमा काजोलले भनिन्, ‘विशेषगरी भारतजस्तो देशमा परिवर्तनको गति निकै सुस्त छ किनभने हामी अझै पनि हाम्रा परम्परामा अड्किएका छौं । र यसको तार हाम्रो शिक्षा संग जोडिएको छ।’

उनले थप भनिन्, ‘हामीसँग शैक्षिक पृष्ठभूमि नभएका नेता छन् । मलाई माफ गर्नुहोस् तर मैले भन्नै पर्छ, हामीमाथि शासन गर्ने धेरै नेताहरूसँग शिक्षाबाट आउने दृष्टिकोण छैन। मलाई लाग्छ कि शिक्षाले कम्तिमा अर्को दृष्टिकोण हेर्ने मौका दिन्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *