नबिल बैंकको ३९ औँ वार्षिकोत्सव, प्रविधिको प्रयोग र सरल बैंकिङ सेवामा एक कदम अघि

डिसी नेपाल
२८ असार २०८० ९:५६
164
Shares

काठमाडौँ। नबिल बैंक लिमिटेडले ३९ औँ वर्ष पूरा गरेको छ। नेपालको पहिलो निजी क्षेत्रको बैंकका रूपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंक लिमिटेडले ३९ वर्षको यात्रा पूरा गरेको हो।

बैंकिङ क्षेत्रमा सर्वाेत्कृष्ट बैंकका रूपमा स्थापित भएको यो बैंक ‘नबिल बैंक सँगै अघि’ भन्ने नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमालो गरेर अघि बढिरहेको छ। ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राखेर बैंकले आफ्नो पृथक चिनारी बनाएको छ।

३९ औं वार्षिकोत्सवकोे अवसरमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकलाई निरन्तर सर्वाेत्कृष्ट बनाएकोमा बैंकका कर्मचारीलाई धन्यवाद दिए। त्यस्तै बैंकप्रति अटुट भरोसा राखिएकोमा ग्राहकहरूलाई आभार प्रकट गर्दै यस्तै भरोसा राख्ने वातावरण बैंकले निरन्तर बनाउने प्रतिबद्धता व्यक्त गरे।

कर्मचारीहरूको योगदान र मेहनत तथा ग्राहकको विश्वासले नै नबिल बैंक अब्बल हुन सकेको उनको भनाई छ। बैंक स्थापना काल देखि नै पहिलो प्राथमिकता ग्राहकको सन्तुष्टि राखिएकोले पनि ग्राहकको मन जित्दै विश्वासिलो बैंकका रूपमा रहन सफल भएको प्रमुख कार्यकारी अधिकृत ढुंगानाको भनाई छ। दिगो र डिजिटलाइज्ड बैंकिङलाई अझ सबल बनाउँदै ग्राहकलाई सुविधा दिन तत्पर रहने उनले बताए।

एक कदम अघि नबिल बैंक
सरल र ग्राहक मैत्री सेवा दिने क्रममा नबिल बैंकले प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकता दिँदै आएको छ। सरलीकृत बैंकिङ सेवा विस्तार गर्ने क्रममा उच्चतम प्रविधिको प्रयोग गर्दै आएको नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङको सुरु गरेको थियो।

नबिलले सन् १९९४ मा पहिलो पटक एटिएम सर्भिसको सुरुवात गरेको थियो। त्यस्तै गरी सन् २०१२ मा पहिलो पटक मोबाइल बैंकिङको सुरु गरी मोबाइलबाट बैंकिङ सुविधा लिने प्रविधि भित्राइएको थियो।

नबिलले २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप समावेश गरेको थियो। सन् २०१६ सालमा नबिलले कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलो पटक ल्याएको थियो। नबिलले पछिल्लो पटक सन् २०२२ सालमा एन बैंकको सुरुवात गरेर नेपालमा पहिलो पटक नियो बैंकिङको सुरु गरेको थियो।

देशकै अग्रणी बैंक
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो जसको कुल निक्षेप रु ३७८ अर्ब तथा कुल कर्जा रु ३४० अर्ब रहेको छ। नबिलले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ।

त्यस्तै गरी देशभरिको शाखा विस्तार भई २ सय ६४ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *