भोटेकोशी बाढी : ट्रमा सेन्टरबाट चार घाइते डिस्चार्ज, १४ जना उपचाररत
काठमाडौं। रसुवाको भोटेकोशीमा बुधबार बिहान गएको बाढीमा परी घाइते भएकामध्ये १८ जनालाई उद्धार गरी काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएकामा चार जना उपचारपछि डिस्चार्ज भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएका १८ जनालाई उद्धार गरी ट्रमा सेन्टरमा ल्याइएको थियो। तीमध्ये आज चार जनाको उपचार पश्चात् स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज भएका हुन्।
हाल राष्ट्रिय ट्रमा सेन्टरमा १४ जना घाइतेको उपचार भइरहेको उनले जानकारी दिए। उपचाररत सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको प्रहरी उपरीक्षक थापाले बताए।
सहायता कक्षमा घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ। बाढीका कारण ठूलो जनधनको क्षति भएपछि उद्धार गरिएका घाइतेको उपचारसँगै प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई समेत निरन्तरता दिइएको छ। उद्धार, उपचार तथा पीडितका आफन्तसँग समन्वयका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment