कञ्चनपुरमा डेङ्गी रोगको सङ्क्रमण बढ्दो

डिसी नेपाल
२६ भदौ २०८० १६:३६
32
Shares

बेदकोट । कञ्चनपुरमा केही सातायता डेङ्गी रोगको सङ्क्रमण बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दुई महिनामा एक सय १८ जना डेङ्गी रोगका सङ्क्रमित भेटिएका छन् । यहाँ डेङ्गीको सङ्क्रमणबाट केही साताअघि एक जनाको मृत्यु पनि भएको थियो ।

बेलौरी नगरपालिकाका– २८ वर्षीय हिक्मतबहादुर खत्रीको १२ भदौमा धनगढीको नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले भन्नुभयो, “जिल्लाको सबैतिर सङ्क्रमण देखिएको छ, केही सातायता परीक्षण गर्दा डेङ्गीको सङ्क्रमण बढिरहेको देखिन्छ ।” उहाँका अनुसार सबैभन्दा बढी डेङ्गी रोगका सङ्क्रमित भीमदत्त नगरपालिकामा भेटिएका छन् । भीमदत्तका ८८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्र हस्पिटलमा १२, दोधारा चाँदनीमा सात, पुनर्वासमा पाँच, बेलडाँडीमा दुई, बेलौरी, कृष्णपुर, शुक्लाफाँटा र बेदकोटमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ । महाकाली प्रादेशिक अस्पतालमा बिरामी चाप बढेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टका अनुसार अस्पतालमा हाल ज्वरोका बिरामी बढेका छन् ।

“ज्वरो, डेङ्गी, स्क्रबटाइपस, टाइफाइड, सर्पदंशका बिरामीको चाप अहिले तुलनात्मक रुपले बढी छ”, उनले भने, “बर्खामा पानी जम्ने र डेङ्गी सार्ने लाभा उत्पादन भएर रोग सार्छ ।” डेङ्गी एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । डेङ्गीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्नेलगायत लक्षण देखिने गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट भट्टले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *