शान्ति र आनन्द प्राप्तिका लागि लुम्बिनी घुमौं

भरत केसी/रासस
९ कार्तिक २०८० १३:०२
40
Shares

लुम्बिनी। नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाएपछि घुमफिर गर्न चाहनेका लागि बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र महत्वपूर्ण गन्तव्य बनेका छन्।

शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि यो निकै उपयुक्तस्थल हो। यहाँ बर्सेनि लाखौंको सङ्ख्यामा आन्तरिक एवं वाह्य पर्यटक, तीर्थालु, तथा अध्येताहरु सो स्थानमा आउँछन्।

बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी महत्वपूर्ण पवित्र तीर्थस्थल हो। बुद्ध जन्मस्थल लुम्बिनीमा मुख्यतया मायादेवी मन्दिरलगायत, बेबि बुद्धको मूर्ति राखिएको स्थान, शान्तिदीप, विश्वशान्ति स्तुपलगायत दर्जन बढी गुम्बा र विहार रहेका लुम्बिनी पुगेपछि घुम्नैपर्ने क्षेत्र हुन्।

लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो। ई पू ६२३ मा लुम्बिनीस्थित बगैँचामा माता मायादेवीको कोखबाट गौतम बुद्धको जन्म भएको हो।

भगवान गौतमबुद्धले जन्म लिएको यही स्थानमा अहिले सुन्दर कलात्मक शैलीको मायादेवी मन्दिर रहेको छ। मायादेवी मन्दिरभित्र राखिएको मायादेवीको मूर्तिलाई जन्ममूर्ति पनि भन्ने गरिन्छ।

चाैथो शताब्दीमा निर्मित यो मूर्तिले बुद्धको जन्म दृश्यलाई देखाएको छ। मायादेवीले गौतम बुद्धलाई जन्म दिँदा सहाराका लागि दाँहिने हातले रुखको हाँगा समातेको र देब्रेपट्टी उनकी बहिनी प्रजापती र देवगण भगवानको स्वागतका लागि तयारी अवस्थामा देखिएका छन्। त्यही नवजात बुद्धको मूर्ति पनि बीचमा रहेको छ।

मायादेवी मन्दिरभित्र गौतमबुद्ध जन्मेपछिको पहिलो पाइला छ। यही मन्दिरको अवलोकन गर्न र गौतम बुद्धको जन्मका बारेमा जानकारीका लागि पनि हरेक वर्ष लाखौँको सङ्ख्यामा बौद्ध तीर्थालु, अध्येता र पर्यटक पवित्र लुम्बिनी भ्रमणमा आउँछन्।

त्यस्तै मन्दिर परिसरमा बाहिर उत्तरतर्फ शान्तिदीप छ, जुन २४ घण्टा नै बलिरहन्छ। शान्तिदीप पानी पर्दासमेत निभ्दैन। दीपसँगै रहेको नहरमा लुम्बिनीमा आउने पर्यटक डुङ्गा चढेर पनि रमाउने गर्छन्।

लुम्बिनी गुरुयोजना अन्तर्गत लुम्बिनीलाई सौन्दर्य दिनका लागि करिब एक किलोमिटर दुरीसम्म बनाइएको नहरमा डुङ्गा चल्ने गर्दछ । यहाँ आउने पर्यटकलाई लुम्बिनी घुमेर मात्र पुग्दैन । पर्यटक बुद्धसँग सम्बन्धित लुम्बिनी वरिपरिका क्षेत्र घुम्न पनि उत्तिकै महत्वपूर्ण ठान्छन्।

जापानी प्राकेन्जो टाँगेद्वारा तयार पारिएको लुम्बिनी गुरुयोजना ३ वर्ग माइल क्षेत्र ओगटेको छ। यस क्षेत्रलाई प्रत्येक एक वर्ग माइल क्षेत्र विभाजन गरी गुरुयोजना अनुसार लुम्बिनी क्षेत्रको निर्माणकार्य भइरहेको छ ।

गुरु योजना अनुसार तीन क्षेत्र सेक्रेट गार्डेन, स्तुप क्षेत्र र नयाँ लुम्बिनी गाउँको रुपमा विभाजन गरी विभिन्न देशले आकर्षक स्तुप बनाएका छन्। लुम्बिनी पुग्ने हरेक पर्यटक ती स्तुपहरुमा नपुगे लुम्बिनी भ्रमण अधुरै रहन्छ । यहाँका घुम्नैपर्ने स्थानहरु यस प्रकारका छन्।

लुम्बिनी पवित्र उद्यान क्षेत्रः लुम्बिनीको दक्षिण भागमा रहेको पवित्र उद्यान क्षेत्रको मुख्य रुपमा आध्यत्मिकता, शान्ति, विश्व भातृत्व र अहिंसा झल्किने वातावरणको सिर्जना गर्नुका साथै संसारभरि नै भगवान गौतमबुद्धका सन्देश प्रतिविम्बित गर्नु हो।

पवित्र उद्यान क्षेत्रमा पुरातात्विक तथा ऐतिहासिक धरोहर रहेका छन् यिनलाई बगैंचा र सुन्दर पोखरीले थप मनमोकह बनाएको छ । यस क्षेत्रमा रहदा हरेकलाई शान्ति र आनन्द महसुस हुनेगर्छ।

बिहार क्षेत्रः लुम्बिनी क्षेत्रको पूर्वी बिहार क्षेत्रमा १३ प्लट थेरवादीहरुका लागि र पश्चिम क्षेत्रमा २९ महायानी बौद्धमार्गीका लागि छुट्याइएका छन्। सांस्कृतिक केन्द्रमा अनुसन्धान केन्द्र तथा पुस्तकालय, सूचना केन्द्र र सङ्ग्रहालय रहेका छन्। यसबाट बौद्ध धर्मसम्बन्धी अध्ययन र अनुसन्धानमा सहयोग पुगेको छ।

नयाँ लुम्बिनी ग्रामः गुरुयोजनाको उत्तरी क्षेत्र नयाँ लुम्बिनी ग्रामको रुपमा विकास भइरहेको छ। यात्रु तथा पर्यटकका लागि यस क्षेत्रमा होटल तथा रेष्टुरेन्ट लगायतका सुविधा यस क्षेत्रमा निर्माण भएका छन्।

यस क्षेत्रमा दुर्लभ पक्षी सारस संरक्षण केन्द्र पनि स्थापना गरिएको छ। जापानको धार्मिक सङ्गठनद्वारा स्थापित विश्व शान्ति स्तुप र लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालयसमेत यसै क्षेत्रमा छन्।

पहिलो दिन लुम्बिनी घुमेपछि दोस्रो दिन बुद्धले आफ्नो जीवनकालको २९ वर्ष बिताएको शाक्य राज्यको राजधानी कपिलवस्तु जिल्लाको तिलौराकोट घुम्न सकिन्छ।

लुम्बिनीबाट तिलौराकोट जानका लागि सार्वजनिक यातायातको व्यवस्था छ । कपिलवस्तु पुगेपछि बुद्धसँग सम्बन्धित तिलौराकोटसँगै गोटिहवा, सग्रहवा, निग्लिहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ।

बुद्धसँग सम्बन्धित ती क्षेत्रमा घुम्नका लागि आम पर्यटक पनि ती ठाँउमा पुग्ने गर्दछन् ।

तिलौराकोटः  बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारौँ सङ्ख्यामा स्वदेशी तथा विदेशी बुद्धधर्मका अनुयायी तिलौराकोट पुग्छन्। विश्वप्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रुपमा चिनिन्छ। बुद्धजन्मस्थल लुम्बिनीबाट कपिलबस्तु सदरमुकाम तौलिहवा हुँदै जाँदा करिब २८ किलोमिटरको दूरीमा तिलौराकोट रहेको छ।

कपिलवस्तु सदरमुकाम तौलिहवादेखि उत्तर वाणगङ्गा नदीको किनारमा अवस्थित तिलौराकोट ई पू. एघारौँं शताब्दीदेखि सन् दोस्रो शताब्दीसम्मका पुरातात्विक भग्नावशेषका साथै प्राचीन दरबारको पूर्वी तथा पश्चिमीद्धार यहाँ अवलोकन गर्न सकिन्छ । यहाँ पटक-पटक विश्व प्रसिद्ध पुरातत्वविदहरुले उत्खनन् गरेको र त्यसबाट तीन हजार वर्ष अघिका संरचना फेला परेका छन्।

कुदानः कपिलवस्तुको तौलिहवाबाट तीन किमीको दुरीमापर्ने कुदान प्राचीन निग्रोधराको नामले चिनिन्छ । यस स्थलमा शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि प्राचीन कपिलवस्तुको राजा एंव बुद्धले आफ्ना पिता शुद्धोधन, रानी प्रजापती गौमती, श्रीमती तथा राजकुमारी यशोधरा र छोरा राहुललाई पहिलो भेट गरेको स्थल हो।

पुरातात्विक एंव धार्मिक महत्वको यस स्थानमा हाल तीनवटा स्तुप, एक पोखरी र एउटा इनार रहेका छन् । बुद्धसँगै आएका तीनसय भिक्षुकाले यस बगैंचामा रहेको पोखरीमा नुहाएको र आफ्नो साथमा आएर भिक्षुलाई बुद्धले उपदेश दिएका थिए।

निग्लिहवाः कपिलवस्तुको तौलिहवाबाट आठ किलोमिटर दूरीमा पर्ने निग्लिहवा शाक्यमुनि बुद्धपूर्वका कनकमुनि बुद्धको जन्मस्थलको रुपमा लिइन्छ । यहाँ सम्राट अशोकले ई पू २४९ मा शिला निर्माण गरेका थिए अहिले उक्त पिलर ढलेको छ। तिलौराकोटबाट तीन किमीको यात्रापछि निग्लिहवा पुगिन्छ ।

गोटिहवाः क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा लुम्बिनीबाट करिब ३१ किमी दूरीको यात्रापछि पुगिन्छ। क्रकुछन्दले बुद्धत्व प्राप्ति गरेको तथा बुद्धत्व प्राप्ति गरेपश्चात पहिलो पटक बुबासँग भेट भएको पवित्रस्थलको रुपमा गोटिहवालाई लिइन्छ । इपूको तेस्रो शताब्दीमा सम्राट अशोकले यस पवित्रस्थलमा आई आफैँले शीलास्तम्भ गाडी यहाँको स्तुप निर्माण गरेका थिए।

सगरहवाः शाक्यमुनी बुद्धको जीवनको अन्त्यतिर शाला राज्यका राजा बिरुढकले प्राचीन कपिलवस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरेको स्थानको रुपमा सगरहवालाई चिनिन्छ । लुम्बू सागरको नामलेसमेत परिचित यो पोखरीको हालको लम्बाइ १०५९ र चौडाइ २२५ रहेको छ।

जगदिशपुर ताल   मानव निर्मित सबैभन्दा ठूलो जलाशय जगदिशपुर ताल हो। यो तिलौराकोटदेखि १० किलोमिटर उत्तरमा रहेको छ । विश्व रामसार सूचीमा सुचीकृत यस तालमा एकै पटक हजारौँको सङ्ख्यामा विभिन्न जातका चराको अवलोकन गर्न पाइन्छ। यसको नजिकै थारु बस्ती रहेको र परम्परागत जीवनशैली, थारु जातीको प्रयोग गर्ने भाँडाकुँडा र खानपान आकर्षण हुन ।

देवदहः देवदह प्राचीन कोलिय राजधानी हो। यो बुद्ध जन्मस्थल लुम्बिनीदेखि करिब ६७ किलोमिटर पूर्वमा रहेको छ। यस ठाउमा शाक्यमुनि बुद्धकी आमा मायादेवी, कान्छीआमा प्रजापती र श्रीमती यशोधराको माइती गाउँको रुपमा मानिन्छ। शाक्यमुनि बुद्धले बाल्यकालका कैयन समय कान्छी आमाको साथमा यहाँ बिताएको मान्यता रहेको छ। बुद्धले आफ्नो ज्ञान प्राप्तीको सातौंँ वर्षमा सहयोगीका साथमा देवदहको भ्रमण गरेको विभिन्न बौद्ध ग्रान्थमा लेखिएका छन्।

यस क्षेत्रको भ्रमणबाट आध्यात्मिक पर्यटकका लागि भनानीपुर, कन्यामाई, बैरिमाइ मन्दिर तथा मायादेवी, प्रजापती र यशोधराको माइती क्षेत्रको अवलोकन भ्रमण गर्न सकिन्छ। प्राचीन कोलिय कालखण्डको पाकरी वृक्षका समेत यहाँको भ्रमणबाट अवलोकन गर्न सकिन्छ।

रामग्रामः पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारबाट करिब तीन किलोमिटर दक्षिणबाट केही पूर्व झरही खोलाको किनारामा ऐतिहासिक, पुरातात्विक तथा धार्मिक रामग्राम स्तुप रहेको छ। करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ समतल मैदानमा देखिने थुम्को नै रामग्राम स्तुप हो। सम्राट अशोकले जम्बुदीपमा ८४ हजार स्तुप निर्माण गर्दा पनि रामग्रामको अस्तु लैजान नसकेको हुँदा बौद्ध धर्म र संस्कृतिको दृष्टिले यसको विशेष महत्व मानिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *