भिरमा लटरम्म सुन्तला फलाउँदै देवघाटका किसान

डिसी नेपाल
२२ मंसिर २०८० १५:५२
380
Shares

चितवन। कृषिमा प्रशस्त सम्भावना रहेको देवघाट गाउँपालिकाका बासिन्दा अहिले फलफूल र पशुपालनतर्फ आकर्षित भएका छन्। देवघाटमा अधिकांश पहाडी भू–भाग छ।

बाँदर खेल्ने पहाडका भीरपाखामा यहाँका किसानले भिरालो जमिनलाई पनि उपयोगमा ल्याएर कृषि व्यावसाय गरिरहेका छन्। उनीहरुले भिर पाखामा लटरम्म सुन्तला फलाउन थालेपछि यो क्षेत्र सुन्तला खेतीको प्रवल सम्भावना देखिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा बताए।

उनका अनुसार यहाँका हरेक क्षेत्रमा लटरम्मै सुन्तला फलेका छन् । देवघाटमा सुन्तला उत्पादन हुने ठाउँमध्ये वडा नम्बर ३ को छापस्वारा एक हो। यहाँका किसानले व्यावसायिक रुपमा सुन्तला लगाएर आयआर्जन गरेका छन्।

“गाउँपालिकामा वडा नं १, २, ३ र ४ मा सुन्तला धेरै उत्पादन हुने ठाउँ हो, अध्यक्ष थापाले भने, ३ नं वडामा अझ बढी सुन्तला उत्पादन हुन्छ ।”

उनका अनुसार अरु वडामा पनि स्थानीयवासीलाई सुन्तला लगाउन आग्रह गरिएको छ । जग्गा खाली राख्ने किसानलाई पालिकाबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित गर्ने चेतावनी पनि दिइएको छ।

अध्यक्ष थापाले भने, “जग्गा खाली नराख्नुहोस् । हामी तपाइँहरुलाई अनुदान दिन्छौँ । अरु सेवा सुविधा थप गर्दै जानेछौँ ।”

“स्थानीयवासी सुन्तला खेतीबाट किसान पूर्णरुपमा लाभान्वित हुन नसकेकाले गाउँपालिकाले कृषि प्रवद्र्धन कार्यक्रमका लागि रु ३० लाख बजेट छुट्याएर निःशुल्क सुन्तलाको बिरुवा वितरण गर्ने योजना बनाएको छ”, उनले भने, “यहाँका सडक यातायातको अभाबमा समस्यामा भएकाले तत्कालै ठूला बाटो खोल्न सक्ने सम्भावना नभए पनि खुलेका बाटोलाई पूर्णरुपमा स्तरोन्नति गर्नेछौँ।”

सबै ठाउँका हावापानीलाई मिल्ने गरी वडा नं ४ को काफलडाँडामा नर्सरी स्थापना गरी त्यहाँबाट बीउ उत्पादन गरेर अर्को वर्षदेखि किसानलाई बीउ वितरण गर्ने योजना रहेकोे अध्यक्ष थापाले जानकारी दिए।

यहाँको हावापानी फलफूल तथा पशुपालनका लागि उपयुक्त भएकै कारण आज यहाँका अधिकांश बासिन्दाले बाँदर खेल्ने र पाती फुल्ने ठाउँमा पनि लटरम्मै सुन्तला फलाएका छापस्वाँराका दिलकुमार श्रेष्ठले बताए।

उहाँनले भने, “केही हुँदैन भनेर नगरी बस्दा कृषिमा केही नहुँदोरहेछ । अहिले गर्दै जाँदा हामीले भिरमा पनि सुन्तला फलाएका छौँ । यस क्षेत्रमा पहिलेदेखि नै सुन्तला खेती सुरु गरिएको भए पनि धेरै सुन्तलाका बिरुवा मर्ने गर्थे तर अहिले व्यवस्थितरुपमा सुन्तला खेती गर्न सुरु गरेपछि सात÷आठ वर्ष भयो हामीले सुन्तलाबाट राम्रो आम्दानी लिएका छौँ।”

यस वर्ष आफूले गरेको सुन्तला खेतीबाट रु दुई लाख ५० हजार कमाइ गरिसकेको कृषक श्रेष्ठले बताए। गत वर्ष सुन्तला खासै राम्रो नफले पनि रु पाँच लाख आम्दानी गरेको र यस वर्ष सुन्तला धेरै राम्रो फलेकाले आफूले झण्डै रु आठ लाखसम्म आम्दानी हुनाका साथै मेहनतको फल पाउँदा आफू निकै खुसी भएको उनको भनाइ थियो ।

श्रेष्ठका अनुसार छापस्वराँका सात घरपरिवारले सुन्तला खेतीलाई आम्दानीको स्रोत बनाएका छन्। उनको भने मुख्य आम्दानीको स्रोत सुन्तला खेतीसँगै बाख्रापालन पनि हो।

श्रेष्ठले भने, “तीन वर्षको सहर बसाइपछि गाउँ फर्केर बारीमा सुन्तला लगाएँ । पछि सुन्तलाका बिरुवाले मल माग्न थाल्यो अनि मैले बाख्रापालन पनि सुरु गरे । सुरुमा १०÷१५ वटाबाट सुरु गरेको बाख्रापालनलाई बढाएर मैले ५०÷६० वटासम्म पु¥याएको छु । जसबाट गतवर्ष वार्षिक रु चार लाख आम्दानी गर्न सफल भएको थिए ।”

अन्य गाउँबासीले सुन्तला, बाख्रापालनलगायत अन्य कृषि पेसाबाट राम्रो आम्दानी लिन सक्ने भए पनि बाटोको अभाबले राम्रोसँग काम गर्न पाएका छैनन । बाटो नभएकै कारण एक युवकले बिरामी भएरज्यान गुमाएपछि आफूहरुले पैसा उठाएर नदीमा अस्थायी पुल बनाएको कृषक श्रेष्ठले बताए।

उनले भने, “यहाँ उत्पादित वस्तु बिचौलियाको माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौँसम्म पुग्ने भए पनि घुमाउनेमा पुल नबन्दा र बाटो नहुँदा यहाँका बासिन्दाले आफूले गरेको मेहनतको उचित फल पाउन सकेका छैनन् ।”

छापस्वाँराका विष्णुकुमार श्रेष्ठले पनि २१ वर्षपछि गाउँ फर्केर सुन्तला खेती गर्दै आएका छन्। एक्काइस वर्षपछि गाउँ फर्किंदा गाउँमा सुन्तला खेती गरेको देखेपछि आफूले पनि सुन्तला खेती गरेको गरेको र अहिले करिब दुई सय बोटबाट धान्नै नसक्ने गरी सुन्तला फलेको उनले बताए।

सोह्र वर्ष मलेसियामा रगत पसिना बगाउनुभएका श्रेष्ठले भने, “सुन्तला फलेको देख्दा गाउँ छोड्न मन लाग्दैन तर बाटो राम्रो नभएर उत्पादित वस्तुले उचित मूल्य पाउन नसक्दा भने निकै दुःख लाग्छ । हामीले बाटो नभएकै कारण यहाँ उत्पादित वस्तु विचौलियाको माध्यमबाट सुन्तला पठाउँदा ठूलो सुन्तलाको प्रतिकेजी रु ७०पर्छ तर सानो सुन्तलाको मूल्य नै आउँदैन।”

“गाउँमा केरा उत्पादन पनि राम्रो भएको भएको छ । हामीले गाउँमा उत्पादित सय कोसा केरालाई रु एक सयमा बेच्छौँ भने त्यही केरा दमौलीमा किन्दा रु एक सय २० दर्जन पर्न जान्छ । हामीले रु एकमा एककोसा केरा बेच्नभन्दा भैँसीलाई खुवाउँछौँ ।” उनले भने।

गाउँमा दूध, घ्यू, फलफूल, तरकारी तथा पशुपालन राम्रो भए पनि बाटोको समस्या हुँदा स्थानीयवासी लाभान्वित हुन सकेका छैनन् ।हाम्रा लागि त्रिशूली नदी माथि घुमाउनेको पुल निकै आवश्यक छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *