विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ताः खोजी जारी

डिसी नेपाल
३१ साउन २०८३ २२:३१

कास्की। पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर बेपत्ता भएका दुई बालकको अवस्था अझै पत्ता लाग्न सकेको छैन। सुरक्षाकर्मीले गोताखोरसहित विभिन्न विधि प्रयोग गरी शनिबार र आज विजयपुर खोला र सेती नदी आसपास खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको हो।

स्याङ्जा स्थायी घर भई पोखरा–१४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङ र चाउथे बस्ने १५ वर्षीय ओमन राईलाई खोलाले बगाउँदै दुवै जना बेपत्ता भएका थिए। बेपत्ता बालकको अवस्था पत्ता लाग्न नसक्दा परिवार चिन्तित बनेका छन्।

शनिबार दिउँसो १ः२० बजे विजयपुर खोला तर्ने क्रममा उनीहरूलाई खोलाले बगाएको थियो। घटनालगत्तै खोजी सुरु गरिए पनि हालसम्म फेला पार्न नसकिएको सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वार्टर कालिका कास्कीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वार्टर कालिकाबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा पाँच जना गोताखोरसहितको विपद् व्यवस्थापन टोली आवश्यक उद्धार सामग्री लिएर पुनः परिचालन भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। उनका अनुसार उक्त टोलीले घटनास्थलबाट करिब दुई किलोमिटर तलसम्म खोलाको किनार तथा खोँचहरूमा खोजी गरिरहेको छ।

त्यहाँ पनि फेला नपरेपछि आज दिउँसो ३ः०० बजेदेखि घटनास्थलभन्दा करिब दुई किलोमिटर तल रहेको पक्की पुलबाट ‘र्‍याप्लिङ क्लाइम्बिङ’ तथा ‘रोप रेस्क्यु’ विधि प्रयोग गरी खोजी गरिएको थियो। सशस्त्र प्रहरी सहायक हवल्दार किरण सुवेदी र सशस्त्र प्रहरी जवान देवराज खनाल पुलबाट करिब ८० मिटर तल रहेको खोँचमा पुगेर खोजीमा खटिएका सहायकप्रजिअ बरालले जानकारी दिए।

खोजीका क्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेपाली सेना कृष्णदल गण फुलबारीका गणपति प्रमुख सेनानी राजेन्द्र पुडासैनी, सशस्त्र प्रहरी नं २४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बसन्तबहादुर सिंह, राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका उपअनुसन्धान निर्देशक मोहनबहादुर कुँवर र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानसहितको संयुक्त टोलीले घटनास्थलको स्थलगत अनुगमन गरेको थियो।

विजयपुर खोला पोखरा–२७ मोरेखरे हुँदै सेती नदीमा मिसिने भएकाले विजयपुर खोलासहित सेती नदी किनारमा पनि नियमित खोजीकार्य भइरहेको सहायकप्रजिअ बरालले जानकारी दिए। उनका अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँ, चितवन र नवलपरासी प्रहरीसँग समेत खोजीका लागि समन्वय भइरहेको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले वर्षायाममा नदी तथा खोला किनारमा नजान र बालबालिकामाथि विशेष निगरानी राख्न आग्रह गरेको छ। प्रशासनले नदी किनारका होचा भूभागमा बसोबास गर्ने नागरिकलाई पानीको बहाव र जलसतह बढेमा तत्काल सुरक्षित स्थानमा सर्नसमेत अनुरोधसमेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *