दिशादोष र समाधानका उपायहरु 

अमेरिकाबाट नेपाली राशिफल

92
Shares

सत्य त्यसलाई भनिन्छ, जसको समूल विनाश हुँदैन,जसलाई बनाउन पनि सकिँदैन,रुपान्तरण मात्र गर्न सकिन्छ। कार्य सञ्चालनको लागि सर्वस्वीकार्य बनाइएको सत्यलाई पनि व्यवहारिक रुपमा सत्य नै भनिन्छ,दार्शनिक रुपमा त्यो सत्य शाश्वत हुदैन,क्षणभंगुर हुन्छ।

सूर्य, तारा, भूमि, दिशाहरु, जलआदिको विनाश निश्चित हुन्छ,यहाँ केही पनि स्थिर र चिरस्थायी छैनन्। यहाँ आत्मा,ज्योती मात्र शाश्वत छ र सत्य पनि यही हो।

प्राकृतिक स्रोतहरु पनि शाश्वत हुँदैनन्। प्राकृतिक स्रोतको सर्ग-निसर्ग भइ नै रहन्छ। घर,पसल,व्यापार आदि व्यवहारिक सत्य जीवनलाई सरल, सहज बनाउनका लागि मात्र प्रयोग गरिएको हो। दार्शनिक वा व्यवहारिक चिन्तन व्यक्तिगत प्रयोजनको आधारमा लिन अनुरोध छ।

वास्तुदोष निवारणको उपाय पूर्वीय वैदिक सभ्यतादेखिको सनातन व्यवहारिक र अधिकांश वैज्ञानिक सामाञ्जस्यको उपज हो,विश्वासको आधार हो भन्न सकिन्छ।

पूर्व दिशाको दोष र निवारण :

पूर्व दिशाको महत्व अन्य दिशाको भन्दा धेरै राम्रो रहन्छ, किनकि पूर्व दिशाबाट सूर्याेदय हुन्छ। तर पूर्व दिशा दुषित पनि हुनसक्छ। घर बनाउँदा विशेष ध्यान दिइएन भने।

पूर्व दिशाका स्वामी इन्द्र हुन् साथै नवग्रह मध्येका सूर्यले यस दिशाको प्रतिनिधित्व गर्ने मानिन्छ। वास्तुशास्त्रअनुसार यो दिशामा वास्तुपुरुषको मुख पर्दछ। पूर्व दिशा विशेष महत्वको हुँदा हुँदै पनि केही कृत्रिम कारणले दूषित बन्दछ।

घर भन्दा पूर्व दिशा अग्लो छ भने घरमालिकका सन्तान मन्दबुद्धि भएका हुन्छन्। साथै घरमालिक पनि दरिद्र बन्दछ । पूर्व दिशामा केही फिट जग्गा खाली नछोडी घर बनाएमा छोराछोरी अपाङ्ग जन्मन्छन् । पूर्वतर्फको गेट आग्नेय कोणमा भए चोर डाकाको भय, अग्निभय र राजभयको सम्भावना बढी हुन्छ।

पूर्व दिशामा रहेको सडकमा ढेपेर घर बनाइ पश्चिम दिशामा खाली जग्गा छोडेको छ भने त्यस्तो घरको मालिक दम, हर्निया, कब्जियतको दीर्घरोगी हुन्छ।

पूर्व दिशामा फोहोर फाल्ने ठाँउ घरको फोहोर संकलन स्थान तथा पुरानो भग्नावशेष छ भने त्यस घरमा बस्ने व्यक्तिहरुमा हृदयाघात, आँखाको समस्या जस्ता समस्याले सताउँछ साथै आय भन्दा व्ययको मात्रा अधिक भएर सदैव तनाव हुने गर्दछ।

पूर्वको भाग अग्लो छ, दक्षिण-पूर्वीभाग सतही बनाएर पानी झर्ने ठाँउ बनाएको .छ भने त्यस घरमा बस्ने व्यक्ति वा मालिकलाई नेत्रविकार दाँत कानको रोग लाग्न सक्छ।

भाडामा लगाउने घरमा घरमालिक सदैव माथिल्लो तलामा बस्नु पर्दछ। साथै घर वा कोठा खाली भएको बखतमा अर्काे भाडादार राखिहाल्नु पर्दछ । धेरै समय घरका कुनै पनि फ्लाट वा कोठाहरु बन्द गरेर राखेमा घरमालिकलाई रतन्धो, वबासिर, हृदयाघात, एपेण्डिस जस्ता रोगले पिरोल्न सक्छ। सधैं आय भए पनि उसलाई तनावले दुःखित बनाइरहन्छ।

घरको कम्पाउण्ड अरुदिशाको अपेक्षा पूर्वतर्फ होचो बनाउनु पर्दछ । दक्षिणको भाग बलियो अग्लो हुनुपर्दछ। यस्तो नभए आय भन्दा व्ययभारले घरमालिक सदैव अशान्त र गृहकलह हुन्छ। जुन घरमा वास्तुदोष छ त्यो घरमा निवास गर्नेलाई त्यस्तो अशुभ दोषले पिरोल्दछ।

दोष निवारण

-पूर्वतर्फको ढोकामा माङ्गलिक वास्तुतोरण लगाउनु पर्दछ।

-सूर्य भगवानको उपासना गर्ने अघ्र्य दिने गर्नु पर्दछ।

– पूर्वतर्फ सयपत्री फूलको गमला राख्नु पर्दछ।

– सूर्य यन्त्र गेटमा लगाउनु पर्दछ।

-पूर्वतर्फ सधैं रातो बत्ती बाल्नु पर्दछ।

आग्नेय दिशा दोष

-आग्नेय दिशाका मालिक गणेश भगवान हुन्। यस दिशाको ग्रहको प्रतिनिधित्व शुक्रले गर्दछ। वास्तुशास्त्रको अवस्था अनुसार वास्तुपुरुषको वायाँ हात घुँडा र देब्रे आँखा यो दिशामा पर्दछ।

-आग्नेय कोणमा भान्साघर हुँदाहुँदै पनि सँगै टाँसिएर पानीको कुवा धारो छ भने त्यो घरमा स्त्री अधीर आलस्य चञ्चल हुन्छिन्, शरीर सुनिने रोग लाग्न सक्छ।

-अग्नेय कोणमा भान्साघर भए पनि सो घर टुटेफुटेको छ भने साथै भान्साघरको पूर्वभाग खाली नभएर बाटोसँग जोडिएको छ भने त्यो घरकी स्त्री सन्तानहीन हुने र मासिक धर्म गडबडाउने योग हुन्छ।

-दक्षिणतर्फको ढोकाबाट प्रवेश गर्दा भान्साघर पूर्वाेत्तर दिशालाई सीमा मानेर ईशान कोणमा बनाएको छ भने त्यस्तो घरको गृहस्वामीको अल्पायू, अनावश्यक खर्च रोग व्याधि बढ्दछ।

-पूर्वी दिशामा ढोका भएको छ उत्तरतर्फ पर्खाल लगाएर दक्षिण खाली छोडेको छ भने एवं आग्नेय कोणमा इनार पनि छ भने त्यस्तो घरको गृहिणीको दुर्घटनामा मृत्यु हुनसक्छ।

-पूर्व तर्फ मुख्य प्रवेशद्वार भई आग्नेय कोणमा अर्काे सहायक प्रवेशद्वार बनाएको घरको ईशान कोण काटिएको वायव्य कोणमा ईनार र नैर्ऋत्य कोणदेखि पश्चिमसम्म भिरालो परेको, घरको नैर्ऋत्य कोणमा अर्काे पनि ढोका भएको (घरको तीनपट्टी बाहिर निस्कने ढोका छ भने) त्यो घरमा बस्ने व्यक्ति प्रतिष्ठित भएर पनि आत्महत्या गरेर मर्दछ नभए पति–पत्नीको झगडाले आत्महत्याको अवस्था समेत आउनसक्छ या श्रीमान श्रीमतीको सम्बन्ध कहिले पनि सुध्रँदैन

दक्षिण दिशा दोष :

कतिपय वास्तुशास्त्रीय ग्रन्थहरमा दक्षिण दिशालाई अशुभ मानेको पाइन्छ तर नेपालको सन्दर्भमा भने पूर्व दक्षिण हुँदै पश्चिमसम्म सूर्यको प्रकाश जाने भएकोले दक्षिणलाई अशुभ मान्नुपर्नै अवस्था रहँदैन।

दक्षिण दिशालाई पितृको यमको एवं भैरवको दिशाको रुपमा मानिन्छ । दक्षिण दिशातर्फ फर्केर तान्त्रिक पूजापाठ गर्न सकिन्छ । देवकार्यलाई भने दक्षिण दिशालाई त्याज्य मानिन्छ।

के यो दिशाको कुनै प्रयोजन नै छैन त ? यसको पनि तात्विकउत्तर कतैबाट आउन सक्दैन। यस दिशाको प्रतिनिधित्व गर्ने ग्रह मङ्गल तथा वास्तुशास्त्रानुसार वास्तुपुरुषको वायाँ छाती यसको अधिष्ठात्री क्षेत्र हो।

-घरको दक्षिण दिशामा धेरै जग्गा छोड्नु हुँदैन। यसो गर्नाले घरपटी (गृहस्वामी) को धनमान-सम्मानमा बाधा उत्पन्न हुन्छ।

-घरको छत दक्षिण ढलान भएको बनाउनु हुँदैन । पानीको निकास पश्चिम तर्फ हुनु राम्रो मानिन्छ।

-नैर्ऋत्यकोणमा पानीको निकास अर्थात् छतको पानी झर्ने ठाउँ बनाएमा त्यो घरमा बस्ने मानिस लामो विरामीको शिकार अवश्य हुन्छ।

-दक्षिणतर्फको भागमा लगाइएको पर्खाल आग्नेयमुखी भएर होचो भएको छ अर्थात् पानीको निकास आग्नेयमुखी भएर झरेको छ भने चोर डाकाको भय, अदालती किचलो तथा अग्निभय अवश्य हुन्छ । यो प्रामाणिक रुपमा अनुसन्धानबाट प्राप्त भएको छ।

-घर बनाएको जग्गाको अवस्था दक्षिणतर्फ ओरालो परेको छ भने त्यो घरमा बस्ने व्यक्तिको व्ययभार अधिक बढ्दछ।

-घरको दक्षिणतर्फ खाड़ल, इनार, कुवा, फोहोर फाल्ने ठाउँ जस्तो कार्यमा प्रयोग भएको छ भने त्यो घरमा बस्ने व्यक्ति रोगी हुन्छ। साथै स्त्रीको स्वभावमा प्रतिदिन नकारत्मक प्रभाव पर्दछ । अचानक हत्या र आत्महत्याको सम्भावना रहन्छ।

-बलेनीको पानी दक्षिण तर्फ झर्ने गरी घर बनाउनु हुँदैन।

-घरको दक्षिणतर्फ ढोका भएर ढोका अगाडि खाल्डो छ वा पानीको स्रोत, अध्यारो छ भने त्यस्तो घरपटीको परिवारका अग्रज र अनुजहरुमा बेमेल हुन्छ।

दोष निवारण

-दक्षिणतर्फ के कारणले दोषयुक्त भएको छ , यदि दक्षिणतर्फ खाल्डो छ, अध्यारो छ, काँडा भएको झाडी छ, ढोकाको सामने दूध आउने रुख आदि छ भने आफ्नो जग्गा भित्र बलियो पर्खाल बनाउने । अथवा त्यस्ता रुख विरुवाहरुलाई हटाउने।

-सामान्य खाल्डो छ भने पुर्ने

-दक्षिणतर्फ पूजाकोठा अध्ययन कक्ष छन् भने त्यसलाई सम्भव भए सम्म उत्तर तर्फ सार्ने।

-दक्षिणतर्फ पानीको टेंकी, इनार या खाल्डो छ भने इनारको वरिपरि नून चूना चिनी हालेर तामाको तारले इनारलाई घेर्ने।

-दक्षिणतर्फ मङ्गलयन्त्र स्थापना गर्ने।

– दक्षिण पूर्वमा रातो बत्ती बाल्ने।

-हीटर, ग्याँस चूल्हो दक्षिण पूर्वमा राख्दा राम्रो हुन्छ।

– दक्षिण दिशामा दोष छ भने प्रत्येक दिन कुकुरलाई खानेकुरा खान दिने।

-दक्षिणमा बटुकभैरवको तस्विर, अग्निदेवताको अथवा रुद्रदेवताको स्थापना गर्ने।

-घरको ढोकामाथि बसेको गणेशको मूर्ति अथवा स्वस्तिक यन्त्र स्थापना गर्ने।

नैर्ऋत्य दिशाको दोष निवारण :

गृहकुण्डलीको आठौं भाव नैर्ऋत्य कोणले ओगटेको हुन्छ। नैर्ऋत्य दिशाको स्वामी राहुदेवता हुन्। इशानमुख वास्तुपुरुषको चरणको कुर्कचाले यस दिशाको स्पर्श गरेको हुन्छ।

-नैर्ऋत्य दिशामा खाल्डो, काँडादार वृक्ष, फोहोरको थुप्रो, चर्पी आदि हुनाले मानसिक विरामी गराउँदछ।

-नैर्ऋत्यकोणमा इनार छ भने त्यस घरमा बस्ने व्यक्तिलाई विना कारणले अनावश्यक रीस उठ्ने, प्रतिशोधको भावनाले पीडित गराउँदछ।

– नैर्ऋत्यकोणमा इनार छ तर घरको भित्ता चर्किएको छ या गहिरो खाल्डो छ भने त्यो घरको सदस्यलाई नशाको समस्या उत्पन्न हुन सक्छ।

-नैर्ऋत्यकोणमा भान्साघर बनाएको छ र त्यहाँ दक्षिण फर्किएर पकाइन्छ भने त्यस घरमा कहिले पनि अन्न, धनको सह हुँदैन।

-नैर्ऋत्यकोणमा अग्लो बनाउन,े झण्डा राख्ने घरको मूल व्यक्तिको शयन कक्ष बनाउने।

-नैर्ऋत्यकोणको दायाँ वायाँ होचो छ भने घरपटीलाई अनेकौं समस्या आउन सक्छ।

-दक्षिण नैर्ऋत्यकोण अन्य कोण भन्दा अलि लामो कोणको छ भने पुरुषलाई र नैर्ऋत्य पश्चिमको कोण लामो छ भने नारीलाई पीडा दिन सक्छ।

-यो कोणमा मात्र घरको मूलढोका छ र भित्री ढोका पनि यही कोणमा छ भने त्यो घरमा बास गर्नेहरु मध्ये कसैले कारावास, हत्या, दुर्घटना तथा आरोप प्रत्यारोपको अपजस भोग्नुपर्दछ। यदि यस्तो छ भने नैर्ऋत्यकोणको गेटलाई तुरुन्त परिवर्तन गर्ने ।

-जग्गाको नैऋत्यको बढेको छ भने नैर्ऋत्यकोणको बढेको भागलाई छुट्याइदिने र अग्लो पर्खाल लगाइदिने।

-नैर्ऋत्यकोण बढेको भए त्यस स्थानमा अग्ला रुख रोप्ने, सामानको गोदाम बनाउने,

-कलकारखाना फ्याक्ट्रीमा दक्षिण पश्चिमको भागमा मेसिनरी सामानहरु राख्ने । सामानलाई गोदाम गर्दा सर्वाधिक राम्रो हुन्छ।

-यस कोणमा दोष रहेको खण्डमा राहुयन्त्र वास्तुझण्डा स्वस्तिक टी.भी. को एन्टिना राखेर दोष शमन गर्न सकिन्छ।

पश्चिम दिशादोष :

पश्चिम दिशाका स्वामी वरुण हुन् । यस दिशाको प्रतिनिधित्व गर्ने ग्रह शनि हुन् । यो दिशालाई वास्तुकोे गुप्ताङ्ग तथा पेटको भागले ओगटेको हुन्छ।

-घरको पश्चिम पट्टी भत्किएको चर्किएको अथवा गहिरो खाल्डो छ भने घरमूलीलाई गुप्ताङ्ग पेट नशा नाड़ीसँग सम्बन्धि रोग लाग्न सक्छ।

-घरको पश्चिम दिशामा वाथरूम वा स्नानगृह छ भने पतिपत्नीबीच विछोड हुन्छ अथवा दुवै यायावर हुन्छन्।

-पश्चिममा पाकशाला भए धन कमाउन सहज हुन्छ तथा खर्च बढेर घरपटी दुःखित रहन्छ। यसै गरी पश्चिममा पाकशाला भए वाथ, पित्त रोगले समाउन सक्छ।

-घरको पश्चिम दिशामा पुरानो खण्डहर भए अर्थात् ढ¥याङ् भए त्यस घरमा बस्ने व्यक्तिको अर्थहानी भैरहन्छ।

-यदि घरको छतको पानी पश्चिम तर्फबाट झर्छ र बाहिर निस्कन्छ भने त्यस्तो घरमा बस्ने मानिस दीर्घरोगी हुन्छ । यस्तो घरबासीलाई मृगौलाको समस्या पर्दछ।

दोष निवारण

-आग्नेयमा पाकशाला नभए पश्चिममा बनाउन सकिन्छ। जसले धन कमाउन सकिन्छ।

-दिशादोष निवारणका लागि घरको मुख्य द्वारमा नागवेली राख्नु पर्दछ।

-घरको पश्चिम दिशामा वरुणजीको यन्त्र स्थापित गर्नु पर्दछ।

-प्रत्येक शनिवार पिपलमा पानी चढाउनाले पनि यस दोषबाट मुक्त हुन सकिन्छ।

-घरको पश्चिम दिशामा पिपल तथा पूर्व दिशामा तुलसी रोप्नाले पनि यस दोषबाट मुक्त हुन सकिन्छ।

-यस्तो दोष भएको खण्डमा घरमालिकले शनिवारको व्रत बस्ने र प्रति शनिवार कुकुर वा जोगीलाई खिचडी खुवाउने ।

वायव्य कोणको दोष :

-वायव्यकोणका मालिक भैरब हुन् । यस दिशाको प्रतिनिधित्व गर्ने ग्रह चन्द्रमा हुन् । यस दिशामा वास्तुपुरुषको घुड़ा र हातको कुहिना पर्दछ।

-वायव्यकोणमा  छ भने घरमालिक कफ, वाथ आदिको रोगी हुन्छ।

-वायव्यकोणमा अध्ययन स्थल छ भने पढ़ाइमा रुकावट आउँछ साथै परिवारका सदस्यहरुको मानसिक अवस्था पनि अस्थिर हुन्छ।

-यस दिशामा पाकशाला भए महिलालाई रोगी बनाउँछ।

-यस कोणमा शौचालय भए घरका सदस्यहरुमा कहिले पनि सुख, आनन्द आदि आउँदैन, तनाव भैरहन्छ।

-वायव्यकोणमा पाकशाला चूल्हो छ भने त्यस घरमा पाहुनाहरुको बास टुट्दैन।

-उत्तरमा प्रवेशद्वार भएर आग्नेय र वायव्य उठेको छ र ईशान र नैर्ऋत्यकोण होचो छ भने अर्थात् काटिएको छ भने त्यस्तो घरमा बस्ने व्यक्तिका परिवारमा कसैसँग पनि मेल हुँदैन झगडाको मुख्य केन्द्र झै हुन्छ।

-वायव्य कोण धेरै अग्लो वा उठेको छ भने घरबासी सदस्यले दिमागी अवस्था विग्रन सक्छ।

-इशान र नैर्ऋत्यकोणको अपेक्षा वायव्य कोण ठूलो वा चौड़ा छ भने त्यस्तो घरमा बस्ने महिला रोगी हुन्छिन्।

दोष निवारण

-वायव्यकोण दुषित छ भने सेतो फूल फूल्ने एघार वटा फूल सहितको गमला राख्नु पर्दछ।

-चन्द्रमा अङ्कित चन्द्रयन्त्रको स्थापना गर्नु पर्दछ।

-वायव्यकोणमा शमी, धूपी जस्ता मध्यम उँचाई भएका बोटविरुवाहरु रोप्नु पर्दछ।

-घरको ढोकामा सङ्गमरमरको वा चाँदीको गणेशको मूर्ति स्थापना गर्नु पर्दछ।

-त्यस्तो घरको भित्तामा चून वा कमेरो लगाउन सकिन्छ भने चाँदी वा पारदको शिवलिङ्गको पूजा गर्नाले पनि यस दोषबाट मुक्त हुन सकिन्छ।
घरको ढोकामा स्फटिकको ओम्कार झुण्ड्याउन सकिन्छ।

उत्तर दिशादोष :

-उत्तर दिशाका मालिक धनधान्यका दाता कुबेर हुन् । यस दिशाको प्रतिनिधित्व गर्ने ग्रह बुध हो । वास्तुशास्त्रको मतानुसार उत्तर दिशामा वास्तुपुरुषको वक्षस्थल पर्दछ।

-उत्तरतर्फ बाटो भैकन पनि घरको पर्खाल भित्तो चर्किएको वा फुटेको छ भने त्यस्तो घरमा बस्ने मानिस अति दुःखित
हुन्छन् ।

-उत्तर तर्फ इनार, कुवा छ भने त्यस्तो घरमा बस्नेमध्ये एकलाई काम्ने वा अवतारी खालको रोग लाग्न सक्छ।

-उत्तर दिशामा पाकशाला छ भने त्यो घरमा बस्ने मानिसहरुबीच झैझगडा भैरहन्छ।

-उत्तर दिशामा कुवा, इनार वा पानीको धारो छ भने आफ्नो सम्पत्ति अर्काको हातमा जान्छ।

-घरको उत्तर तर्फ खण्डहर, मलखाडी वा फोहोर फाल्ने ठाउँ छ भने त्यो घरबासीको धनदौलत बिस्तारै सकिँदै जान्छ।

-उत्तर दिशामा खाली जग्गा छैन अर्थात् घर उत्तर तर्फको सिमानामा टाँसिएर बनेको छ भने त्यो घरमा बस्ने मानिस रोगी हुन्छ।

-उत्तरको भाग घर भन्दा अग्लो छ भने त्यो घर अशुभदायक हुुुन्छ ।

-उत्तर दिशामा उपयोगहीन खाली गाग्री वा बट्टा जस्ता सामग्रीहरु राख्नुृ हुँदैन । यस्तो भएमा त्यस्तो घरमा बस्ने व्यक्तिको धनक्षय, कान्तिक्षय तथा सन्तानदुःख आदि अनिष्ट हुन्छ ।

-उत्तर तिर भएको ढोका वायव्य कोणतिर खुल्ने छ भने त्यस्तो घरमा बस्ने व्यक्तिलाई अग्निभय तथा चोरभय हुन्छ।

दोष निवारण

-उत्तरतर्फ अनावश्यक पर्खाल, काँडा भएको रुखहरु छन् भने हटाउने ।

-उत्तरदिशामा गहिरो खाल्डो, अग्लो ढिस्को छ भने हटाइदिने ।

-उत्तर तर्फ मुख्य द्वार छ भने द्वारमा बुधको यन्त्र लगाउने ।

-घरको पर्खालमा हरियो रङ्ग लगाउने ।

-घरमालिकले परेवालाई चारो खुवाउने ।

-घरमा ॐकार अथवा चराको आवाज आउने खालको घण्टी लगाउने ।

-उत्तरतर्फ झोपडी, मलखाडी छ भने हटाउने ।

-उत्तर तर्फ अग्ला रुख तथा वजनदार वस्तु राखिएको छ भने हटाउने ।

ईशान दिशा दोष :

-वास्तुशास्त्रले ईशान कोणलाई महत्वपूर्ण मानेको छ । हिन्दू, बौद्ध तथा क्रिश्चियनहरुले पनि यो कोणलाई महत्वपूर्ण मान्दछन् । यस दिशाका स्वामी रुद्र हुन्। नवग्रह मध्ये वृहस्पतिले यस दिशाको प्रतिनिधित्व गरेका हुन्छन्। यस दिशामा वास्तुपुरुषको दायाँ आँखा रहेको हुन्छ । यो दिशा अन्य दिशाहरुमध्ये धेरै प्रभावशाली हुने भएकाले यस कोणलाई सदैव सफा राख्नु पर्दछ।

-घरको ईशान कोणमा शौचालय छ भने त्यस घरमा बस्ने मानिस सदैव दुःखित रहन्छ साथै वंशविनास पनि हुन सक्छ ।

-घर बनाएको जग्गाको ईशान भाग काटिएको छ भने त्यस्तो घरमा बस्ने व्यक्तिको परिवार रोगग्रस्त हुन्छ ।

-दक्षिण दिशा भिरालो भैकन उत्तर पूर्व तथा ईशानकोण कटेको छ भने त्यस्तो जग्गामा बनेको घरमा बस्ने व्यक्तिको वंशविनास हुनसक्छ ।

-ईशानकोणमा गएर बाटो टुङ्गिएको छ र दक्षिण नैर्ऋत्य वा वायव्य भाग दबेको छ भने त्यस्तो घरमा बस्ने घरमालिक बुढ्यौलीमा सहाराविहीन हुन्छ ।

-अन्य स्थानको ढोका भन्दा उत्तर वा ईशान तर्फको ढोका अग्लो स्थानमा छ भने त्यस्तो घरमालिकको जेठो वा कान्छो सन्तान लङ्गडो, वैरो, अन्धो वा अपाङ्ग हुन सक्छ ।

-ईशानमा इनार भैकन पनि घरको बलेनी खस्ने ठाउँ भन्दा भित्र छ भने अशुभ हुन्छ तर बलेनी खस्ने ठाउँभन्दा बाहिर छ भने शुभ हुन्छ ।

-यदि ईशान कोण अन्य कोण भन्दा अग्लो भए त्यस्ता घरमालिकका सन्तान विकलाङ्ग हुन्छन् ।

-ईशान कोणमा ठूल्ठूला वृक्ष, ढुङ्गा, ढिस्का वा खण्डहर छ भने त्यो वंशको विनाश हुन्छ ।

-ईशान दिशा अग्लो छ भने त्यो घरमा बस्ने मालिकको धननाश हुन्छ ।

-ईशानमा वाथरुम, शौचालय छ भने गृहपतिको मृत्यु वा धननाश हुने निश्चित छ ।

दोष निवारण

-ईशानकोण अग्लो छ भने सम्याउने

-ईशानकोणमा अग्ला रुखहरु छन् वा अग्लो ढिस्को छ भने हटाउने ।

– इनार घरको ईशानकोणको बलेनी खस्ने ठाउँ भन्दा भित्र छ भने त्यसलायई पुर्ने वा त्यसमा मेसिन फिट गरी त्यसको निकास बाहिर निकाल्ने ।

-ईशान दिशामा शौचालय छ भने त्यसलाई बन्द गर्ने वा भत्काउने ।

-ईशान कोणमा मूल प्रवेश द्वार छ भने घरमा नौ इन्च अग्लो शिवलिङ्ग राखेर पूजा गर्ने ।

-मुख्य प्रवेश द्वारमा शिवतोरण वा शिवयन्त्र लगाउने ।

-घरमा ईशानदिशा दोष छ भने घरपटीले सोमवारको उपवास गर्ने ।

-ईशान अशुभ छ र सन्तान भएका छैनन् भने, घरमा महिलाहरुको मासिकधर्म विग्रेको छ भने प्रदोषको व्रत गर्ने।

– ईशानकोणलाई सदैव सफा राख्ने र घरमा सँधै शिवजीको उपासना गर्ने रुद्री पाठ गराउने।

-ईशानमा तुलसीको मठ स्थापना गर्ने र शालिग्रामको स्थापना गरी दैनिक पूजा गर्ने। घरबाट बाहिर निस्कदा दाहिने तुलसीको मठ छ र बाहिरबाट घरभित्र पस्दा दाहिने पूजास्थान छभने धेरै दोषहरु लाग्दैनन्,यो विश्वासको आधार पनि हो।

मासार्ध राशिफल
मेष राशि : चु,चे,चो,ला,लि,लु,ले,लो,अ
शारीरिक तथा मानसिक थकान रहनेछ । धार्मिक कार्यमा सफलता मिल्नेछ। दाजुभाइबीच मनमुटाव रहने देखिन्छ। आकस्मिक धनलाभको योग छ। शत्रु परास्त हुनेछन्। मित्रजनको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ।

वृष राशि  : इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

बायाँ अङ्गको विकारले दैनिक कार्यमा समस्या आउला। अध्ययन अध्यापनमा सुधार आउला । मन चञ्चल हुनेछ। शत्रुहरु शवल भए पनि विजय तपाइको हुने छ । समाजमा प्रतिष्ठा बढ्नेछ । यात्रामा सावधान रहनुहोला । सहोदरको सहयोगले रोकिएका काम बन्लान्। नयाँ जागिर पाइने योग छ।

मिथुन राशि  : का,कि,कु,घ,ङ,छ,के,को,हा

वैवाहिक जीवनमा झगडाको योग छ । राष्ट्रसेवक व्यक्तिका लागि समय लाभदायक देखिन्छ । अध्ययन अध्यापनमा रुचि बढ्ला । प्रेम प्रसङ्गमा निराशा बढ्नेछ। दायाँ हात कान सम्बन्धी समस्याले सताउला । वाणीमा मधुरता थपिनेछ । आय आर्जनमा वृद्धि भए पनि आफन्तजनको भरण पोषणमा खर्च बढ्नेछ।

कर्कट राशि  :हि,हु,हे,हो,डा,डि,डु,डे,डो

घर,जग्गा जमिनको खरिदविक्रि हुनेछ। अध्ययन अध्यापनमा बाधा व्यवधान उत्पत्र हुनेछ । साहित्य लेखन तथा अनुसन्धानमूलक कार्यमा रुचि बढ्नेछ । रोजगारी तथा कृषिकार्यमा लाभ मिल्नेछ । अनावश्यक खर्च नियन्त्रण हुनेछ । यात्रामा कष्ट व्यहोर्नु पर्नेछ । मातापिता तथा मान्यजनको सहयोग प्राप्त हुनेछ।

सिंह राशि : मा,मि,मु,मे,मो,टा,टि,टु,टे

शैक्षिक प्रगतिको समय रहेकोछ । वैदेशिक यात्राको योग छ । व्यापार व्यवसायमा प्रसस्त लाभ हुनेछ । भूमि वाहनको किनबेचमा लाभ मिल्नेछ । दैनिक कार्यमा रुचि बढ्ने छ। मातापिताको सहयोग प्राप्त हुनेछ । धार्मिक कार्य गर्ने अवसर मिल्नेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । शत्रूहरुले पनि मित्रवत् व्यवहार गर्नेछन्।

कन्या राशि : टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

शारीरिक परिश्रम बढ्नेछ । आफन्त तथा साथीभाइको सहयोग मिल्नेछ। महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ। धार्मिक क्षेत्रको भ्रमण गर्ने योग देखिन्छ । स्वास्थ्यमा समस्या आउनेछ । मानसिक तनावको अन्त्य हुनेछ । सामाजिक पद प्रतिष्ठामा नकारात्मक प्रभाव पर्ला । अचल  सम्पत्तिको कारोवारमा लाभ मिल्नेछ।

तुला राशि : रा,री,रु,रे,रो,ता,ती,तु,ते

अचल सम्पत्ति जोडिएला । मनमा उत्साह बढ्ने देखिन्छ । आय आर्जनमा वृद्धि हुने छ । कर्म प्रतिको निष्ठा बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने छ । सामाजिक पद प्रतिष्ठा मान सम्मान प्राप्त हुने छ । सन्तान तथा दाजुभाइबाट अपेक्षाकृत सहयोग प्राप्त हुनेछ । परोपकारमूलक कार्यमा समय व्यतित हुनेछ ।

वृश्चिक राशि :तो,ना,नी,नू,ने,नो,या,यि,यू

गाडिघोडा वाहनको खरिद गरिएला । पारिवारिक सम्बन्ध प्रगाढ रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । दैनिक खर्चमा वृद्धि हुनेछ । साहित्य कला संगीतमा रुचि बढ्नेछ । आय आर्जन सन्तोषजनक रहनेछ । मानसिक स्फूर्ति बढ्ला । सन्तान प्रतिको दायित्व बढ्नेछ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ ।

धनु राशि  : ये,यो,भा,भी,भू,धा,फा,ढा,भे

मुहारमा कान्ति बढ्नेछ । अध्ययन अध्यापन सुचारु हुनेछ । व्यापार व्यवसायमा प्रगति हुनेछ । आफन्तसँको भेटघाट बढ्नाले मन प्रसत्र रहनेछ । कष्टकर यात्रा हुने छ । खर्चमा वृद्धि हुने देखिन्छ । मुद्दा मामिला पर्न सक्ने देखिन्छ । राजनैतिक तथा न्यायिक क्षेत्रमा सफलता मिल्ला । दाम्पत्य जीवन सुखमय रहनेछ ।

मकर राशि :भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी

खर्चमा वृद्धि हुनेछ । अध्ययन अध्यापनमा अवरोध आउनेछ । व्यापार व्यवसाय सन्तोषजनक रहला । देवोपसनामा मन लाग्नेछ । अचल सम्पत्तिको क्षय हुने योग छ । शत्रु निर्बल रहनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । रोजगार तथा पद प्रतिष्ठामा वृद्धि हुनेछ । विद्या बुद्धि तथा वाक्पटुताले रोकिएका काम  सुचारु हुनेछन् ।

कुम्भ राशि : गु,गे,गो,सा,सी,सु,से,सो,द

व्यापार व्यवसायमा वृद्धि हुनेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । रोजगारी तथा कृषिकार्य लाभदायक नरहला । अध्ययन अध्यापन सुचारु हुनेछ । सन्तानबाट सहयोग मिल्नेछ । धार्मिक चहलपहल बढ्नेछ । मानसिक चञ्चलता बढ्ने छ । पारिवारिक सद्भाव कायमै रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ।

मीन राशि :दी,दु,थ,झ,ञ,दे,दो,चा,ची

पद प्रतिष्ठाको प्राप्ति हुने छ । शत्रुजनहरुको इष्र्या बढ्ने देखिन्छ । पारिवारिक भेटघाटमा रुचि घटेको अनुभव हुनेछ । पठन पाठनमा सफलता प्राप्त होला । जागिर,वा व्यवसायमा तनाव आउला । वैदेशिक यात्रा हुने छ । राष्ट्र सेवा प्रति तत्परता बढ्नेछ । मनमा हर्ष र विस्मातको द्वन्द्वले सताउनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *