ललितपुरबाट ब्राउन सुगर र पेस्तोलको गोलीसहित चार जना पक्राउ
काठमाडौं। ललितपुरबाट पेस्तोलको गोली र ब्राउन सुगरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। बुधबार दिउँसो १ बजे महालक्ष्मी नगरपालिका–७ चाँगाथलीस्थित एक घरबाट प्रहरीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक र तीन जना नेपाली नागरिक रहेका छन्।
सोही वडामा बस्ने सुरेश उप्रेती, लायोक कङ्दवा (लिम्बू), प्युठान घर भई भक्तपुर बस्ने मनोज थापा र भारतीय नागरिक सिनामंगल बस्ने सञ्जय मेहतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू लायोक बस्ने घरबाट पक्राउ परेका हुन्। उनीहरूको साथबाट १४.६८ ग्राम ब्राउन सुगर र दुई राउण्ड नाइन एमएमको गोली बरामद भएको प्रहरीको भनाइ छ।
लागूऔषधको कारोबार हुन लागेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग लुभुका इन्चार्ज सई सन्तोष बुढाथोकी कमाण्डमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त सातदोबाटो पठाइएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment