एकता प्रक्रिया नटुंगिँदै नेकपा विभाजनको खतरा!

डिसी नेपाल
१५ साउन २०७६ १३:३३

जगदीश दाहाल

चाणक्यले राजनीतिलाई राज्य चलाउने नीति भनेर व्याख्या गरेका छन्। तर, बेला बेलामा सत्तामा पुग्नकालागि प्राचीन समयमा पनि राजनीतिमा साम, दाम, दण्ड, भेदको प्रयोग गरिँदै आएको दृष्टान्त छन्।

कालान्तरमा यो परम्परा नै बन्यो र राजनीतिमा सत्ता प्राप्ति नै राजनीति गर्नुको अन्तिम लक्ष्यको रुपमा देखिन थाल्यो। राजनीतिलाई त्यही रुपमा व्याख्या गरियो र नयाँ पुस्ताले त्यही सिक्दै गए । आज पर्यन्त राजनीतिमा मुख्य ध्येय सत्ता प्राप्ति नै बन्ने गरेको छ।

परम्परा नै बनिसकेको यो संस्कारबाट नेपालको राजनीति पनि अछुतो रहेको छैन। अहिले नेपालमा नेपाल कम्युनिष्ट पार्टीको करिब दुई तिहाइ बहुमतको सरकार गठन भएको छ। हुन त नेकपाले जनताको मतबाटै सरकार गठन गरेको हो। वामगठबन्धन बनाएर निर्वाचनमा गएका तत्कालीन एमाले र नेकपा माओवादीबीच एकता भएर अहिले नेकपा गठन भएको छ। नेकपा गठन भएको १४ महिना पूरा भएको छ।

पार्टी एकता भएको वर्षदिन नाघिसक्यो तर दुई पार्टीमा सबै कुराहरुको एकता हुन अझै सकेको छैन। अझै पनि पार्टीभित्र विभिन्न तहमा द्वैध नेतृत्व छ। यी सबैलाई एक बनाउने प्रयास भइरहेको छ। यो बीचमा दुई दलबीच एकताका लागि धेरै वार्ता र छलफल भए। तर तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल अरुले थाहा नपाउने अवस्था सृजना भएको छ।

तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल अरुले थाहा नपाउने अवस्था सृजना भएको छ।

दुई नेताले सबै विवाद मिलायौं भन्ने तर व्यवहारमा त्यस्तो नदेखिँदा राजनीतिक संकट बढ्दै जाने अवस्था देखिएको छ। पछिल्लो समय नेकपाभित्र दुई पार्टीकै अभ्यास हुन थालेको छ। दुई दलबीच एकता भएपनि सबैजसो पदमा दलीय हिसावले भागबण्डा गरिएको छ। अहिले पनि पूर्व एमालेका नेताहरु बालुवाटारमा छलफल गर्छन् भने पूर्व माओवादी केन्द्रका नेताहरु प्रचण्ड निवास खुमलटारमा छलफल गर्छन्। यसरी छुट्टा–छुट्टै बैठक बस्नुले दुई दलबीच अझैपनि राम्रोसँगले मन मिलिसकेको देखिएन।

अहिले एकताका नाममा कसले कति शक्ति आफूसँग राख्ने र आफ्नो पोजिसन कसरी बलियो बनाउने भन्ने लडाइँ नेकपाभित्र देखियो। यसले एकताको प्रक्रिया पूरा नहुँदै पार्टीभित्र गुटबन्दी भइसकेको देखियो । विगतका इतिहास हेर्दा यसप्रकारको गुटबन्दीले एकता होइन विखण्डन ल्याएका छन् । नेपालको इतिहासमा कम्युनिष्ट पार्टी जुटेको भन्दा फुटेको धेरै अनुभव छ।

नेपालका कम्युनिष्ट मात्रै नभएर अन्य दलपनि विभाजित भएका छन् तर कम्युनिष्ट पार्टीको विभाजन धेरै भएको हामीले देखेका छौं। सबै विधाजनको कारण यस्तै गुटबन्दी र बेमेल नै हुन् । यसरी हेर्दा अहिलेको स्थितिले नेकपाको एकता प्रक्रिया टुंगोमा नपुग्दै विखण्डनको बिरुवा उम्रिसकेको छ ।

लेखक : जगदीश दाहाल

कुनै पनि पार्टी विभाजन हुनु राष्ट्रका लागि पनि राम्रो होइन। राजनीतिक दल बलिया भएमात्रै लोकतन्त्र बलियो हुने हो। विश्वमा राजनीतिक दल बलियो भएका मुलुकमा लोकतन्त्र पनि बलियो देखिएको छ।

योबीचमा नेपालको लोकतन्त्र बलियो हुन नसक्नुको एउटा कारण राजनीतिक दल बलियो नहुनु पनि एउटा कारण हो। राजनैतिक दल विभाजन भएकै कारण नेपालमा स्थिर सरकार बन्न नसकेको हो । राजनैतिक स्थिरता नभएकै कारण विकास र समृद्धिले गति लिन नसकेको तथ्य सर्वविदितै छ ।

यसरी हेर्दा अहिले सरकारमा संचालन गरिरहेको नेकपाभित्रको विवादले पनि मुलुक र जनतालाई फाइदा गर्दैन। अझ नेकपाका अर्का अध्यक्ष प्रचण्डले आफूहरुबीच आलोपालो सरकार संचालन गर्ने सहमति भएको खुलासा गरेपछि सरकारको प्रभावकारिता कम भएको अनुमान पनि लगाउन थालिएको छ।

यदि प्रचण्डले भनेजस्तै सरकार गठन भएको साढे दुई वर्षपछि सरकारको नेतृत्व परिवर्तन हुने अवस्था आयो भने के नेकपा विभाजित हुन्छ? यो मुख्य प्रश्न हो। सरकार गठन भएको साढे दुई वर्षपछि सरकार छोड भन्ने र छोड्दिन भन्ने पक्षबीच हानाथाप बढ्दै गयो भने के हुन्छ? आशा गरौं यस्तो नहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *