सर्वत्र सिकार, अनदेखा सरकार

बन्यजन्तु सप्ताहको मध्याान्तरमा मेचीनगर-१२ कालिका सामुदायिक वनभित्र ४० वर्षको सुन्दर शान्त भाले हात्ती मृत अवस्थामा भेटियो। दाह्रा पुच्छर काटेर लगिसकेको अवस्थामा फेला परेको हात्ती माथि चोरी सिकारीले गोली दागेको पूर्वानुमान लगाइएको थियो।

पोष्ट मार्टमबाट कञ्चटमा ३ गोली फायर भएको र गोली खप्पर भित्रै रहेको पुष्टी भयो। मेटल डिटेक्टरले गोली छ भन्ने संकेत दिँदा पनि गोली ननिकाली हतास खाल्डो खनेर हात्तीको सत्गद् गरियो। बाँकी बिस्तृत अनुसन्धान भास्भुस् पारियो।

सरकारी निकाय निरीह निकम्मा असफल सिद्ध भयो। चोरी सिकारी र तस्करहरुको हौसला र मनोवल बढेर आकास छोयो। उन्मुक्तिको परिणाम, अर्को सिकारको लागि त्यो बन्दुक लोड भइसकेको हुनुपर्दछ।

हात्ती चोरी सिकारका शृंखला

नयाँ वर्षको पूर्व सन्ध्यामा चोरी सिकारीले गोली हानेर अर्को एउटा बयस्क हात्तीको हत्या गरेका थिए। गोली लागेर रन्थनिएको हात्ती टाढा गएर ढलेको हुँदा सिकारीले दाह्रा पुच्छर लैजान पाएका थिएनन्। त्यो रिस् साँध्न र आवस्यकता पूरा गर्न यो भाले हात्तीलाई सिकार गरिएको बुझ्न गाह्रो भएन।

त्यो हात्तीलाई एक राउण्ड मात्र फायर भएको थियो। तर रड् काटेर बनाइएको त्यो शक्तिशाली गोली हात्तीको फोक्सोमा फेला परेको थियो। गोलीमा धागोले बाँधेको बिषथैली पनि सँगै थियो।

गोली र बिष दुबैको असरले हात्तीको ज्यान गएको थियो। त्यो प्राणी बिरोधी, मानवता बिरोधी अकल्पनीय, अक्षम्य र जघन्य अपराध थियो। गहिरो अनुसन्धान, खोज र पक्राउ गरेर सिकारीलाई कानूनी दायरामा नल्याई नहुने यो घटना फासफुस पार्दा अर्को हात्तीको ज्यान गयो।

यहाँ खतरनाक कुरा के छ भने सधैं उन्मुक्ति पाउँदै छिप्पिएको चोरी सिकारी इम्प्रोभाइजेसनको माष्टरमाइण्ड देखिन्छ। साहस चुलिएको हुनुपर्दछ। उ सार्प सुटर त उसै हुँदै हो। उसले हात्तीलाई धेरै नजिकबाट अबर र ठहरै पार्ने गरेर फायर गरेको देखिन्छ।

सिकारका थप शृंखला

पाटे बाघ सोत्तर भएको पुष्टी हुन्छ। पर्सा, चितवन, बाँके, बर्दिया, शुक्लाका बाघहरु सरकारी लाहापरवाही र सिकारी दुबैबाट मारिनु ज्यादै दुःखद् कुरा हो। पर्सा राष्ट्रिय निकुञ्ज भित्र नियन्त्रणमा लिइएका खोरका बाघहरु भोक र रोगले मर्नु चरम सरकारी हेलचेक्र्याइँ  हो।

कैदी तस्करहरुलाई मिलोमतोमा छुटाउनु अर्को अक्षम्य कुकर्म थियो। त्यहाँ प्राकृतिक श्रोत साधनको उत्खनन दोहन र बिक्री वितरणले सीमा नाघेको बिकृति सुनिनसक्नु छ। दण्ड पुरस्कार नीति भएको भए ती अक्षम्य जघन्य अपराधहरु दण्डनीय थिए।

सरकार निरीह, मुकदर्शक र अनदेखा भयो भनेर प्रकृति र वन्यजन्तु अधिकारकर्मीले संरक्षण निकाय, संघ-संस्थाहरु घेराबन्दी तालाबन्दी गर्नु सरकार पूर्णत निकम्मा र असफलसिद्ध भएको सफेद प्रमाण हो। ऐतिहासिक राष्ट्रिय बदनामी पनि हो।

नेपाली सेनाको संरक्षण घेराभित्र हप्तौं समय लगाएर २५ वर्ष पुरानो धरापको तरिका खाल्डो खनेर गैंडा मारी खाग खुर लैजाने चोरी सिकारले संरक्षणमा भ्वाङ परेको र सिकारीले टाउकोमा टेकेको संकेत गरेकै थियो।

सालक, रेडपाण्डा, चितुवा, कस्तुरी, घोरल, झारल, नावर, मृग प्रजातिको चोरी सिकार देशैभरि ब्यापक बढेको देखिन्छ।

सप्तकोशीमा माछाको ह्रास कहालीलाग्दो छ। सरकारी निकायको निरीहता र दरिद्रताले सप्तकोशी पुलमा अहिले जिउदो दुर्लभ कछुवा बिक्री गरिन्छ। गोही र माछाले भरिएका अरु नदीहरु पनि रित्ता भएका छन्।

मयुरका प्वाँखले सहर रंगिएका छन्। अन्य पंक्षीहरुको चोरी सिकार र तस्करी उस्तै कहालिलाग्दो छ।

संरक्षण बिरोधी बिचित्रको भाष्य

मानव-वन्यजन्तु द्वन्द्वको प्रमुख कारण वन्यजन्तु पीडा र क्षति भन्ने एकतर्फी भाष्य निर्माण गरिएको छ। चिया पसलदेखि राष्ट्रपति प्रधानमन्त्री निवाससम्म चलाइएको हल्ला वन्यजन्तु धेरै भए र जनधनको क्षति बढाए भन्ने छ।

यो कपोकल्पित हल्लालाई सुल्ट्याउने बुझाउने र मानवनिर्मित अतिक्रमण, चोरी सिकार, बन पैदावर तस्करी, बासस्थान बिनास र जल जंगल वायु प्रदुषणको तथ्य प्रमाण पेश गरेर वन्यजन्तुको अधिकार प्रतिरक्षा गर्न कसैले साहसिक पहलकदमी लिएको देखिँदैन।

यही भाष्यलाई सुनेर पूर्व वनमन्त्री डा. बीरेन्द्र महतोको बाघ मार्ने नाराले फिल्डमा दुर्लभ पाटे बाघ सोत्तर भए। बाघ सिकार र बाघको मृत्युको दोषी उनै पूर्वमन्त्री र उनलाई उचाल्ने संरक्षणको खोल ओढेका बिचौलिया हुन्। संरक्षण बिरोधी सिकारी, तस्कर र ब्यापारीलाई सत्र पल्टियो।

प्रदेश चुस्त संघ सुस्त

पृथ्वीमा पहिलो राजनीतिक नेतृत्व होला मुख्यमन्त्रीले ७ दिन हात्तीको जैबिक मार्ग पैदल यात्रा गरेर चुनौती र अवसर पहिल्याए। मानव-हात्ती सहअस्तित्व कायम गर्दै हात्ती संरक्षण गरौं भन्ने नाराको पदयात्राले झापादेखि उदयपुरसम्म गहिरो संरक्षण सचेतना फैलायो।

असरदार टिमवर्कको लागि बृहद् टिम निर्माण गर्‍यो। स्थानीयबासीले मानव-हात्ती द्वन्द्वको प्रमुख कारण वन अतिक्रमण र मानवीय क्रियाकलाप हो भनेर हात्ती संरक्षण गर्न जोडदार सामूहिक माग राखे।

तर उद्धार राहत रकम निकाशादेखि हात्तीको अध्ययन, अनुगमन, एवं मृत हात्तीको अध्ययन अनुसन्धान गरी चोरी सिकारी र तस्कर पत्ता लगाउन सिआईबी खटाएर प्रदेशलाई सघाउन संघ सुस्त र उदासिन रह्यो।

बाघ मृत्युको छानबिन र अनुसन्धान गर्ने निकुञ्ज बिभागको जमर्को सेलाएर गएको बिडम्बना छ। हात्ती संरक्षणको लागि समन्वयकारी र सहजीकरण भूमिका निर्बाह गरिदिनुपर्ने निकुञ्ज बिभाग र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसि) दुबै निश्क्रिय र चिर निन्द्रामा छन्।

मेघौली गैंडालाई ट्रकमा कोचेर चरम सास्ती दिँदै सौराहबाट कोशीटप्पु लैजाने र भोलिपल्ट पुनः सौराह फिर्ता गर्ने बच्चा खेल र खर्चले उनीहरुको अब्यवहारिक र अव्यवशायिक चरित्र तथा चरम लाहापरवाहीलाई प्रमाणित गर्दछ। मिलिभगत भ्रष्टाचार छर्लङ्गै छ।

बिभागललाई एनटिएनसिको नालायक र निकम्मा नेतृत्वको पुच्छरले नचाइरहेको थियो। शक्तिकेन्द्र रिजाएर कुर्सी कब्जा गरेका सदस्यसचिवलाई राष्ट्रिय सतर्कता केन्द्रले अयोग्य घोषणा गरी हटाइसक्दा पनि अटेर गरी बसिरहदा राष्ट्रिय प्रकृति संरक्षणको गरिमा, गौरव र बैभव बोकेको हिजोको संरक्षण धरोहर एनटिएनसि आज तहसनहस भएको छ।

तीन वर्षदेखि संरक्षण मर्म र धर्म मरेको छ। संरक्षणमा नैतिकता, तदारुकता, पारदर्शिता, जावफदेहीता हराएको छ। परिणामत प्रकृतिमाथि जसको शक्ति उसको सम्पतिको लुटपात जारी छ। चाकडी र भ्रष्टाचार मौलाएको बहुलाएको छ।

सुधारको बाटो

प्रकृतिले वन मन्त्रालयमा प्रकृतिप्रेमी, संरक्षणप्रेमी र साहसिक नेतृत्व माग गरेको लामो समय भयो। वर्तमान वनमन्त्रीहरुद्वयलाई प्रकृति खुशी पार्ने र सुनौलो अक्षरले इतिहास कोर्न सुवर्ण अवसर प्राप्त भएको छ। जरुरी छ केवल इच्छाशक्ति र हिम्मतको।

पहिलो, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागमा निकुञ्ज समूहको नेतृत्व स्थापित गर्ने र बिभागलाई अराजनीतिक तर सर्बाधिकार सम्पन्न र चलायमान बनाउने।

हात्तीको अनुगमन र संरक्षण जिम्मेवारी बिभागले लिने र चोरी सिकारी तथा तस्करहरुलाई शीघ्र पक्राउ गरि कानूनको कठघरामा उभ्याउने। फिल्डको प्रत्यक्ष कमाण्ड मन्त्रालयले होइन, बिभागले गर्ने पुरानो अभ्यास पुनः कडाईका साथ लागू गर्ने र फिल्ड अधिकारीलाई मन्त्रालय टेक्न धाउन निषेध गर्ने।

दोश्रो, राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष अबिलम्ब वनमन्त्रीले लिने र शक्ति केन्द्र रिझाएर गैरकानूनी नियुक्ति लिई अटेर गरि कुर्सी ओगट्ने बिषथैलीको गलगाँड बोकेको अनविज्ञ बिचौलिया सदस्य सचिवलाई सतर्कता केन्द्रको माग बमोजिम २४ घण्टाभित्र बर्खास्त गरि पारदर्शी छानबिन गरेर अपचलन गरेको ढुकुटी पुनरभरण गराउने।

कोषलाई उद्धार सहयोग गरेर न्याय दिलाउने अख्तियार आयोग, सुशासन समिति र सतर्कता केन्द्रलाई सम्मान दर्शाउँदै योग्य, सक्षम, अराजनीतिक र नैतिकवान कोष कै बिज्ञलाई नेतृत्व सुप्पिएर अस्तब्यस्त कोषको उद्धार र छबि रक्षा गर्ने।

तेश्रो, सिआईबी परिचालन गरेर पर्सा निकुञ्जले छाडेका तस्कर र राजनीतिक संरक्षण पाएका चोरी सिकारीलाई पक्राउ गरी कानूनको दायरामा ल्याउने। रक्षा र गृह मन्त्रालयसँग समन्वय गरेर ३६ हजार बढी अबैध हातहतियार संकलन गर्न पहल गर्ने।

चौथो, पूर्व मन्त्रीहरुले अपारदर्शी ढंगबाट संरक्षण क्षेत्रको हत्या गरेर तस्कर र काला ब्यापारी पोस्न तोडमोड गरेका संरक्षण बिरोधी नियमावली तथा स्थायी कार्यबिधि खारेज गर्ने।

पाचौं, राष्ट्रपति चुरे कार्यक्रममा राजनीतिक नियुक्ति बन्द गरेर वन मन्त्रालयको वन विज्ञ पदाधिकारीको नियुक्ति र स्वामित्व ग्रहण गरि चुरे संरक्षण गुरुयोजनाको अराजनीतिक कार्यान्वयनमा जोड दिने।

छैटौं, हिमाल सफाईको पबित्र अभियान पूरा गर्न पहलकदमी लिने।

सातौं, वन्यजन्तु अबैध ब्यापार अनुगमन र नियन्त्रणको जिम्मेवारी (लिखित म्याण्डेट्) सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरीबललाई दिने।

आठौं, हरित सुशासन ब्यवहारमा उतारेर देखाउने।

बैकल्पिक बाटो

वनको नया नेतृत्वको परिवर्तन र सुधारको सुन्दर रोडम्यापलाई ऐतिहासिक सुरक्षा खम्बा नेपाली सेनाले काँध थापेर सहयोग गर्नुपर्दछ। वन र निकुञ्जको राजनीतिक हावी र भताभुङ्ग चेनअफ् कमाण्ड नसुघ्रिएसम्म संरक्षणमा तेब्बर धेरै ज्यान र ध्यान दिनुपर्दछ। ब्यबस्थापन (घाँसे मैदान, पानीको श्रोत सृष्टि र सरसफाई, प्राकृतिक श्रोत साधन रक्षा) मा समेत सघाउनु पर्दछ।

फिल्डका फ्रण्टलाइन संरक्षणकर्मीले फिल्डको रक्षा गरेर केन्द्रलाई सुध्रिन र संरक्षणलाई उच्च प्राथमिकता दिएर शिरोपर गर्न दबाब दिनुपर्दछ।

प्रकृतिको असली, पहिलो र ठूलो मालिक स्थानीय समुदाय, युवा समूह, बिद्यार्थी समूहको प्रकृतिप्रेम एवं संरक्षणप्रेम प्रशंसायोग्य र कदरयोग्य छ। त्यसले संरक्षणको उज्वल भविष्य संकेत गर्दछ। त्यो समूहको निरन्तर खबरदारी र निगरानी अति आवस्यक छ।

प्रकृति अधिकारकर्मी र बन्यजन्तु अधिकारकर्मी गोलबद्ध हुन जरुरी छ। प्रकृति र संरक्षण बिरोधी नीति र ऐन कानूनको धज्जी उडाउन जरुरी छ। प्रकृति र बन्यजन्तुको ढाल भएर उभिन आवस्यक छ।

प्रकृतिको अन्तिम र शक्तिशाली रक्षाकवच न्यायालय हो। प्रकृति र संरक्षणप्रेमी नैतिकवान न्यायमुर्तिहरुले अबोध प्रकृतिलाई न्याय दिइ छाड्ने संकल्प लिनुपर्दछ।

उपसंहार

अन्त्यमा, दुनियामा संरक्षणले पहिलो र उच्च प्राथमिकता पाएको हुन्छ। संरक्षणमा सेकेण्डको महत्व हुन्छ। तर यहाँ संरक्षणलाई हत्या गरेर प्रकृति लुटपात गर्ने तस्करहरुको सेवामा सरकारी ज्यान, ध्यान र धन दुरुपयोग गरिएको छ।

शक्तिको दुरुपयोग गरेर शक्तिको आड र संरक्षणमा एउटा अनविज्ञ र अनैतिक विचौलियाले संरक्षणलाई आफू वरिपरि केन्द्रित गरेर हीरो भइरहेको दृश्य लज्जास्पद छ। प्रकृति माथिको एकल राज र शासन दुर्भाग्यपूर्ण छ।

सत्ता होस् सरकार, अख्तियार होस वा आर्मी, स्वदेश होस बिदेश, राजा देखि रैती, दुनियालाई बिचौलियाले जोक्कर र हिजडा बनाइरहेको छ। राष्ट्रिय प्रकृति र राष्ट्रिय ढुकुटीको चरम शोषण गरिहेको छ।

अति भयो, संरक्षण सरोकार निकायहरुको आँखा खुलोस् र हात्ती, प्रकृति, ढुकुटीको उद्धार र संरक्षणमा अविलम्व ध्यान जावस्। सत्ता र सरकारले बिचौलियालाई कानूनी कठघरामा उभ्याउन नसक्ने हो भने प्रकृति अधिकारकर्मीहरु प्रकृतिलाई न्याय दिन अग्रसर हुनुपर्दछ।

वन्यजन्तु सप्ताहलाई शुभकामना ।

पृथ्वीमाता दिवसलाई शुभकामना ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *