देउवाको उत्तराधिकारी बन्ने दाउमा डा. शशांक
काठमाडौं। महाधिवेशनपछि महत्वपूर्ण मानिने नेपाली कांग्रेसको महासमिति बैठक सकिएपछि नेताहरु आआफ्नो दाउमा लागेका छन्। महामन्त्री गगन थापा आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नुपर्ने मुद्दा जनतामा लैजाने तयारीमा छन्।
महासमिति बैठकमा उनले सोही विषयलाई केन्द्रमा राखेर प्रीतवेदन पेश गरेका थिए। सो विषयमा केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने बताइएको छ।
अर्का नेता डा. शेखर कोइराला आगामी महाधिवेशनमा आफू सभापति हुने गरी अगाडि बढिरहेका छन्। कांग्रेस विधानमा एक व्यक्ति दुई पटक भन्दा बढी सभापति बन्न नपाइने व्यवस्थाका कारण वर्तमान सभापति शेरबहादुर देउवा सभापतिका उम्मेदवार बन्न पाउँदैनन्।
गत महाधिवेशनमा ४० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका शेखर आगामी महाधिवेशनमा सभापति हुने गरी तयारी थालिसकेका छन्। यद्यपि उनलाई आफ्नो समूहका नेताहरुलाई मिलाउनु पर्ने चुनौती छ।
उता कांग्रेस संस्थापक नेता विपी कोइरालाका पुत्र डा. शशांक कोइरालाले आफूलाई देउवाको उत्तराधिकारीको रुपमा प्रस्तुत गर्न खोजेका छन्।
महासमिति बैठक सकिए लगत्तै कोइरालाले महासमिति सदस्यहरुलाई चियापान कार्यक्रमको आयोजना गरेर त्यसको संकेत गरेका छन्। शनिबार महासमिति सदस्यहरूको सम्मानमा पूर्वमहामन्त्री समेत रहेका कोइरालाले चियापान आयोजना गरेका थिए।
चियापानमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, कृष्ण सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह गोपालमान श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरूको बाक्लो जमघट भयो।
महासमिति बैठकमा विभिन्न मुद्दामा नेता कार्यकर्ता विभाजित भएको अवस्थामा सबैलाई एकै स्थानमा जम्मा गर्न चियापान गरेको बताएपनि त्यस चियापानको मुख्य उद्देश्य आफू देउवाको उत्ताराधिकारी रहेको सन्देश दिनु रहेको चर्चा हुन थालेको छ
महासमिति बैठक लगत्तै कांग्रेसमा अब पार्टीको आगामी महाधिवेशन केन्द्रित जोड घटाउ सुरु हुन थालेको छ। पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो उत्तराधिकारीको खोजी सुरु गरिसकेका छन्। २०८२ मंसिरमा १५औं महाधिवेशन हुँदै छ।
पार्टीमा शक्तिशाली रहेका सभापति देउवा विधानतः अब सभापति बन्न पाउँदैनन्। यसकारण पनि नेतृत्व हस्तान्तरणपछि पनि देउवा अझै शक्ति कायम राख्न विश्वासिलो पात्रको खोजीमा छन्।
पछि १४औँ महाधिवेशनमा पनि शशांकले देउवालाई नै सघाएको कांग्रेस वृत्तमा चर्चा हुने गरेको छ। १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका डा.शशांक आगामी महाधिवेशनमा सभापतिको आकांक्षा राख्दै आएका छन्। गोदावरीमा सम्पन्न महासमितिबाटै देउवाले डा.शशांक आफ्नो उत्तराधिकारी बन्ने संकेत गरेका छन्।
आगामी महाधिवेशनमा संस्थापन पक्षको उम्मेदवार अर्थात देउवाको उत्तराधिकारी आफू हुने डा.शशांकले शनिबार आफैँले आयोजना गरेको चियापानमा स्पष्ट संकेत गरेका थिए। साथै, उनले आफू र देउवाबीचको सम्बन्धबारे पनि संकेत गरेका थिए।
चियापानमा छोटो मन्तव्य दिँदै डा.कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि लाने बताए। आउँदो निर्वाचनमा एकढिक्का भएर गए कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गर्दै डा.कोइरालाले भने, ‘नेपाली कांग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीका रूपमा अघि बढाउन आवश्यक छ। आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ। हामीलाई कसैले हराउन सक्दैन। महासमितिसँगै उत्साह र उमंग बोकेर जिल्ला जाऔँ, आउँदो निर्वाचनमा कांग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाऔँ । बिपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि संघर्ष गर्नुभएको थियो, उहाँको संघर्षलाई कांग्रेसले भुल्नुहुँदैन।’
यद्यपि १३ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुँदा राम्रो काम गर्न नसकेको भन्दै डा. शशांकको आलोचना हुने गरेको छ। ‘विपी पुत्र भन्दा उहाँले अर्को परिचय बनाउने गरी काम गर्न सक्नु भएन,’ उनलाई निकटबाट चिन्ने एक नेता भन्छन्, ‘सभापतिको आकांक्षा राख्नु स्वाभाविक हो, उहाँले पार्टी हाँक्न सक्ने देखिँदैन। उहाँ उम्मेदवार बन्दा कोइराला परिवारमा कांग्रेसको नेतृत्व पुग्न बाधा उत्पन्न हुन सक्छ।’







डिसी नेपाल








Facebook Comment