शुक्लाफाँटामा आँखा शिविर सञ्चालन
सांकेतिक तस्वीर
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकामा आजदेखि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ। धनगढी नेत्रालय अस्पतालको प्राविधिक सहयोगमा नगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो।
नगरपालिकाका १२ वटै वडाका बासिन्दालाई आँखाको उपचार सेवा घरदैलोमै पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य सेवा शाखाका प्रमुख परमानन्द भट्टले बताए। पहिलो दिन वडा नं २ मा शिविर सञ्चालन गरिएको हो। यहाँ सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट एक सय ८७ जनाले सेवा लिएको आधारभूत स्वास्थ्य केन्द्र रानीपुरका प्रमुख मदन साउदले बताए। मोतिया विन्दु भएका आठ जनाको निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको छ।
यस्तै आँखाको दृष्टि कमजोर भएका ३९ जनालाई निःशुल्करुपमा चस्मा वितरण गरिएको छ। बाँकी एक सय ४० जनालाई निःशुल्क रुपमा परामर्श तथा आँखा जाँचसँगै औषधि वितरण गरिएको छ। यसैगरी, अन्य वडामा पनि निरन्तररुपमा यही फागुन २७ गतेसम्म आँखा शिविर सञ्चालन गरिने नगरपालिकाका उपप्रमुख कल्पना पन्तले बताए।
यही फागुन १७ गते आधारभूत स्वास्थ्य केन्द्र पिपलाडी, १८ गते आधारभूत स्वास्थ्य केन्द्र सिसैया, १९ गते शिवशंकर माध्यमिक विद्यालय गर्जमुनी, २० गते वडा नं ६ को वडा कार्यालय भवन, २१ गते एक नम्बर वडा कार्यालय, २२ गते पिपलाडी स्वास्थ्यचौकीमा, २३ गते ७ नं वडा कार्यालय, २४ गते ८ नं वडा कार्यालय भवन, २६ गते आधारभूत स्वास्थ्य केन्द्र दीपनगर र फागुन २७ गते आधारभूत स्वास्थ्य केन्द्र कालागौंडीमा शिविर सञ्चालन गरिने छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment