जनकपुरको धार्मिक पर्यटन प्रवर्द्धन गर्न होटेल व्यवसायी अयोध्या प्रस्थान
महेन्द्रनगर (धनुषा)। जनकपुरधाममा धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालका होटेल व्यवसायी आज अयोध्यातर्फ प्रस्थान गरेका छन्।
होटल व्यवसायी संघका केन्द्रीय अध्यक्ष विनायक शाहको नेतृत्वमा ६० भन्दाबढी नेपाली होटेल व्यवसायी भारतीय पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यले अयोध्याका लागि प्रस्थान गरेका हुन्।
अयोध्यामा राममन्दिरको निर्माण भएपश्चात् त्यहाँ पर्यटकको आवागमन बढेकाले जनकपुरधाममा पनि पर्यटकको आगमन बढाउने उद्देश्यले अयोध्या जान लागेको अध्यक्ष शाहले बताए।
दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने, जनस्तरमा सम्बन्ध विस्तार गर्नुका साथै पर्यटनको बढावा दिनु नै अयोध्या भ्रमणको मूल उद्देश्य रहेको होटेल व्यवसायी संघ मधेसका अध्यक्ष विजय झुनझुनवलाले बताए। अयोध्या भ्रमणका क्रममा होटेल व्यवसायीले अयोध्यास्थित राममन्दिरमा पूजा आराधना गर्नुका साथै कोशेली पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए।
त्यस्तै त्यहाँका ‘टुर्स एण्ड ट्राभल्स एजेन्ट’सँग पनि छलफल गर्ने कार्यक्रम रहेको होटेल व्यवसायीले जनाएका छन्। अयोध्या प्रस्थान गर्नुअघि शनिबार बेलुका होटेल व्यवसायीले जानकी मन्दिरमा पूजा आराधना पनि गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment