‘उत्कृष्ट नारी सम्मान’सहित प्रथम ओलम्पियन धावक रावतलाई अभिनन्दन

डिसी नेपाल
२३ फागुन २०८० ८:५३
12
Shares

झापा। नेपालबाट पहिलोपटक ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी महिला धावक मेनुका राउतलाई मङ्गलबार यहाँ ‘उत्कृष्ट नारी सम्मान’सहित नागरिक अभिनन्दन गरिएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर वीरता लेडी जेसिज पूर्वअध्यक्ष क्लबले उहाँलाई उक्त सम्मान गरेको हो भने जिल्लाका ५० भन्दा बढी सङ्घसंस्थाले उहाँलाई ‘नागरिक अभिनन्दन’ गरेका हुन् ।

मेचीनगर–७ निवासी ५२ वर्षीया रावतका आजभन्दा ३६ वर्षअघि सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सिओलमा सम्पन्न ओलम्पिक प्रतियोगितामा एथलेटिक्स विधाबाट नेपालको राष्ट्रिय ध्वजावाहक महिला धावकका रूपमा सहभागी हुनुभएको थियो ।

उक्त ओलम्पिकमा नेपालबाट दुईजना महिला धावक राउत र काभ्रेकी राजकुमारी पाण्डे सहभागी भएकी थिइन्। त्यसअघिका ओलम्पिकमा नेपाली महिला धावकको सहभागिता रहेको थिएन ।

वीरता लेडी जेसिजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा नेपालको सुकीर्ति फैलाउने झापाको एकजना महिला प्रतिभालाई हरेक वर्ष उत्कृष्ट नारी सम्मान प्रदान गर्दै आएको छ ।

वीरता लेडी जेसिजलगायत दर्जनौँ सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले प्रथम ओलम्पियन खेलाडी रावतलाई नागरिक अभिनन्दनपश्चात विर्तामोड बजार परिक्रमासहित १४ किलोमिटर टाढा निजी निवासमा पुर्याएका थिए ।

सम्मान कार्यक्रममा कोशी प्रदेशकी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरुङले सम्मानपत्र प्रदान गर्दै राष्ट्रका लागि योगदान पुर्याएकी राउतको सम्मान गरेर जेसिज लगायतका झापाका सङ्घसंस्थाले नयाँ पुस्तालाई खेलकुद क्षेत्रमा लाग्न अभिप्रेरित गरेको धारणा व्यक्त गरे।

यस वर्षको उत्कृष्ट नारी सम्मानका लागि प्रतिभाको चयन गर्न नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कमिटीका पूर्वकोषाध्यक्ष अम्बिका भण्डारी र वीरता जेसिजका पूर्वअध्यक्ष युवराज दाहाल रहेको तीन सदस्यीय छनोट समिति चयन गरेको थियो ।

उक्त सम्मानबाट विगतमा राजनीतिज्ञ गिरिराजकुमारी प्रसाईँ, शिक्षासेवी प्रभा घिमिरे र प्रथम महिला पाइलट जीना लिङ्देनलाई सम्मानित गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.