दसैँमा अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्यो, गत वर्षभन्दा २ हजार ६२७ बढी

डिसी नेपाल
१० कार्तिक २०८३ ९:०६

लमजुङ । यस वर्षको दसैँ अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म ५ हजार ३८४ विदेशी पर्यटकले यस पदमार्गमा भ्रमण गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका अनुसार असोज २५ देखि कात्तिक ८ गतेसम्म उक्त पदमार्गमा ५ हजार ३८४ पर्यटक आएका हुन् । गत वर्ष सोही अवधिमा २ हजार ७५७ पर्यटक आएका थिए । यस वर्ष गत वर्षको तुलनामा २ हजार ६२७ पर्यटक बढी आएका छन् ।

केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार मनास्लु क्षेत्रको पदमार्गमा बाढीपहिरोले क्षति पुर्‍याउँदा त्यहाँ जाने केही पर्यटक अन्नपूर्ण पदमार्गतर्फ आकर्षित भएका छन् । यसका साथै अनुकूल मौसम र मानिसमा घुमफिर गर्ने संस्कृति बढ्दै जानुले पनि पर्यटक आगमनमा वृद्धि भएको उनले बताए ।

केन्द्रको तथ्याङ्कअनुसार यस वर्ष अन्नपूर्ण पदमार्गमा आएका पर्यटकमध्ये ३ हजार २८८ पुरुष, २ हजार ९४ महिला र अन्य दुई जना छन् । तीमध्ये सार्क राष्ट्रबाट ६०९ र गैरसार्क राष्ट्रबाट ४ हजार ७७५ पर्यटक आएका छन् ।

देशगत रूपमा सबैभन्दा बढी भारतबाट ६०६ पर्यटक आएका छन् । त्यसैगरी जर्मनीबाट ४३८, इजरायलबाट ४१८, फ्रान्सबाट ३६४ र संयुक्त राज्य अमेरिकाबाट ३५२ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् ।

लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङसम्म पुग्छ । हिमाली दृश्य, प्राकृतिक सौन्दर्य, परम्परागत बस्ती र स्थानीय संस्कृतिको अवलोकन गर्न पाइने भएकाले यो पदमार्ग विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *