एनपीएल उद्घाटन खेल: लुम्बिनीसामू सुदूरपश्चिम धरमर, ९ विकेट पतन
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले ९ विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १३ औँ ओभरको खेल जारी रहँदा लुम्बिनीका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिमलाई अत्यन्तै दबाबमा राखेका छन्।
इनिङ्सको १२.३ र १२.४ ओभरमा लुम्बिनीका बलर किशोर महतोले लगातार बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीलाई पभेलियनको बाटो देखाउँदै टिमलाई ठूलो सफलता दिलाएका छन्।
त्यसअघि १०औँ ओभरमा शेर मल्लले पनि दुई विकेट हात पारेका थिए। मल्लले सातौँ विकेटको रूपमा स्कट कुगेलेइनलाई एलबीडब्लू आउट गराएका थिए। सुरुमा अम्पायरले नटआउट दिए पनि लुम्बिनीका कप्तान रोहित पौडेलले लिएको डीआरएस (DRS) सफल हुँदै बल पिचिङ आउटसाइड अफ, इम्प्याक्ट इन लाइन र विकेट्स हिटिङ देखिँदै कुगेलेइन आउट भएका थिए।
त्यसअघि ९.२ ओभरमा शेर मल्लकै बलमा ठूलो सट खेल्ने धुनमा शेरफन रदरफोर्ड लङअनमा आसिफ शेखबाट क्याचआउट भएका थिए। इन्निंग्सको प्रारम्भिक चरणमा पनि सुदूरपश्चिमले सम्हालिन मौका पाएन। पाँचौँ विकेटको रूपमा इशान पाण्डेलाई तिलकराज भण्डारीको बलमा कप्तान रोहित पौडेलले क्याच गरेर आउट गरेका थिए।
यसअघि खेलको पावर प्लेमै लुम्बिनीका बलरहरूको कसिलो आक्रमणसामू सुदूरपश्चिमले आफ्ना सुरुवाती महत्त्वपूर्ण विकेटहरू गुमाएको थियो। शेर मल्लले विनोद भण्डारीलाई आउट गरेका थिए भने किशोर महतोले ब्रान्डन म्याकमुलेन (२ रन) लाई बोल्ड गर्नुका साथै आरिफ शेख र सैफ अली जैबलाई पनि सस्तैमा पभेलियन फर्काएका थिए। लगातारको विकेट पतनसँगै सस्तैमा समेटिने खतरामा रहेको सुदूरपश्चिमले सामान्य स्कोर बनाउन पनि संघर्ष गरिरहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment