आईपीएलको मिनी अक्सन डिसेम्बर १६ मा गोवामा हुने
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को सन् २०२७ को सिजनका लागि खेलाडी अक्सन डिसेम्बर १६ मा भारतको गोवामा हुने भएको छ।
खेलाडी एक दिन चल्ने अक्सनको करिब एक महिनाअघि नोभेम्बर १५ सम्म टोलीहरूले आफूले कायम राख्ने खेलाडीको सूची बुझाउनुपर्नेछ। त्यसपछि आईपीएलले टोलीहरूलाई दर्ता भएका खेलाडीको सूची उपलब्ध गराउनेछ। टोलीहरूले त्यसमध्ये आफूलाई आवश्यक खेलाडी छनोट गरेपछि अक्सनमा सहभागी हुने खेलाडीको अन्तिम सूची र लिलामीको क्रम सार्वजनिक गरिनेछ।
सन् २०२६ को सिजन सकिएपछि आईपीएलमा हालसम्म दुई खेलाडी ट्रेड भएका छन्। गत जुनमा लखनउ सुपर जायन्ट्सले आफ्ना कप्तान ऋषभ पन्तलाई दिल्ली क्यापिटल्समा पठाएर स्पिनर कुलदीप यादवलाई टोलीमा भित्र्याएको थियो। हालै दिल्लीले तीव्र गतिका बलर टी नटराजनलाई सनराइजर्स हैदराबादमा पठाएर अनुभवहीन लेग स्पिनर जीशन अन्सारीलाई टोलीमा ल्याएको छ।
आईपीएलको सन् २०२७ को सिजन सुरु हुने मिति भने अझै तय भएको छैन। यसअघि सन् २०२४ मा आगामी तीन सिजनको सम्भावित समयतालिका सार्वजनिक गर्दा सन् २०२७ को प्रतियोगिता मार्च १४ देखि मे ३० सम्म सञ्चालन गर्ने योजना बनाइएको थियो।
सन् २०२७ को अक्सन आईपीएलको वर्तमान चक्रको अन्तिम मिनी अक्सन हुनेछ। सन् २०२८ को सिजनअघि मेगा अक्सन आयोजना गरिनेछ, जससँगै प्रतियोगिताको नयाँ प्रसारण अधिकार चक्र सुरु हुनेछ। सन् २०२२ मा आईपीएलको प्रसारण अधिकार ४८ हजार ३९० करोड ५० लाख भारतीय रुपैयाँमा बिक्री भएको थियो। उक्त सम्झौताले आईपीएललाई विश्वकै सबैभन्दा मूल्यवान् खेलकुद प्रतियोगितामध्ये एक बनाएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment