मैत्रीपूर्ण क्रिकेटमा नेपाल हङकङसँग पराजित
काठमाडौं। मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ। हङकङले नेपाललाई ७३ रनले पराजित गरेको हो। हङकङमा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै हङकङले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा दुई सय १२ रन बनायो। दुई सय १३ रनको लक्ष्य पाएको नेपालले १६ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रनमात्र बनाउन सक्यो। नेपालका लागि विनोद भण्डारीले २२ बलमा ४१ रन जोडे। कप्तान रोहितकुमार पौडेलले ३० रन र आरिफ शेखले ३८ रन बनाए।
यसअघि हङकङका लागि बाबर हयातले अर्धशतकीय पारी खेले। उनले ४९ बलमा तीन चौका र १३ छक्काको मद्दतमा एक सय १० रन बनाए। यस्तै मार्टिन कोइत्जीले ३१ र अंशी राथले ३९ तथा अजिज खानले अविजित २१ रन बनाए। बलिङतर्फ नेपालका लागि आजैको खेलमा टी–२० क्रिकेटमा डेब्यु गरेका आकाश चन्दले तीन विकेट लिए। त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो। नेपाल, हङकङ र पपुवा न्यूगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुँदैछ। त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो। त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ। यस्तै नेपालले फागुन २९ गते पवुवा न्यूगिनीसँग खेल्नेछ। फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङ्कङ गएको हो।







डिसी नेपाल







Facebook Comment