स्थानीय सरकार नागरिकको परिवारः मन्त्री जोशी
फाइल फोटो
काभ्रेपलाञ्चोक। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले स्थानीय सरकार नागरिकको परिवार भएको बताएका छन्।
उनले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मनमती डाँडामा नवनिर्मित नगर कार्यालयको प्रशासकीय भवन उद्घाटन एवं सातौँ स्थापना दिवसलाई आज सम्बोधन गर्दै स्थानीय तहलाई स्थानीय नागरिकले आफ्नो परिवारसरह मानेकाले सोही अनुसार सेवा तथा व्यवहार गर्नुपर्ने बताएका हुन्।
“स्थानीय तह नागरिकले आफ्नो परिवार मानेका छन्, उनीहरुलाई सोहीअनुसार प्रत्येक्ष सेवा प्रदान गर्ने दायित्व जनप्रतिनिधिको छ”, मन्त्री जोशीले भने।
उनले पञ्जीकरणलगायत शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपक्षी र अन्य सेवा नगरबाटै प्रत्यक्ष सहजरुपमा पाइरहेकाले नागरिक खुसी भएको विश्वास व्यक्त गरे।
उनले भने, “हामी सङ्घीयता कार्यान्वयनकै पक्षमा छौँ, संघीय, प्रदेश र स्थानीय तीनवटै सरकार मिलेर आशा जगाउने हिसाबले प्राथमिकताका साथ नागरिकका समस्या समाधान गर्न लाग्नुपर्छ।”
पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले स्थानीय तह विशेषका क्षेत्रलाई प्राथमिकतामा राखी सोही विशेषतालाई व्यावसायिकतातर्फ उन्मुख गर्नुपर्ने बताए।
उनले भने, “मण्डनदेउपुर कृषि र पर्यटनमा अब्बल क्षेत्र हो, पर्यटकीय क्षेत्र नगरकोटको ठूलो हिस्सा मण्डनदेउपुरमै पर्ने भएकाले यस क्षेत्रमा पर्यटन विश्वविद्यालय स्थापना गर्नुपर्दछ।”
जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाललगायत स्थानीय नेताले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाइवाले २४ रोपनी चार आना क्षेत्रफलमा रु १६ करोड १९ लाख ७९ हजारमा ६४ कोठे प्रशासकीय भवन निर्माण गरिएको जानकारी दिए।







डिसी नेपाल







Facebook Comment