काठमाडौं महानगरपालिका स्वास्थ्य विभागद्वारा दुई वटा फार्मेसीमा तालाबन्दी

डिसी नेपाल
१७ जेठ २०८१ २०:१३
116
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जको कम्पाउण्डभित्रै सञ्चालनमा रहेका दुई वटा निजी फार्मेसीमा ताला लगाएको छ।

अस्पतालको कम्पाउण्डभित्र मापदण्डविपरीत फार्मेसी सञ्चालन गरिएको भेटिएपछि पानोरमा र पञ्चकन्या फार्मेसीमा ताला लगाइएको महानगरपालिकाका निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले जानकारी दिइन्।

उनले भनिन्, “हामी अर्कै फार्मेसीविरुद्धको परेको उजुरी उपर अनुगमनका लागि त्यहाँ गएका थियौँ, टिचिङ हस्पिटलको कम्पाउण्डभित्रै निजी फार्मेसी सञ्चालन भएको र त्यसैमाथि मापदण्डविपरीत भेटिएपछि ताला लगाएका छौँ।”

भ्याक्सिनलाई उचित तापक्रममा नराखेको, अनुमतिबिनै नार्कोटिक्स ड्रग्सजन्य औषधि बेचिएको, औषधि स्टोरेज पनि मापदण्डअनुसार नभएको पाइएको विभागले जनाएको छ।

ताला लगाइएका फार्मेसीलाई के कारबाही हुने भन्ने विषयमा अहिले अध्ययन भइरहेको निमित्त स्वास्थ्य विभाग प्रमुख महर्जनले बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *