देशभर तापक्रम घट्यो

डिसी नेपाल
२० जेठ २०८१ ६:१७
68
Shares

काठमाडौं।नेपालगञ्जमा यही जेठ १७ गते वर्षकै सबैभन्दा धेर ४४ दशमलव दुई डिग्री सेल्सियस तापक्रम भयो। त्यसपछि धनगढीमा ४४ दशमलव एक डिग्री मापन भएको तापक्रम त्यसको दुई दिनपछि देशभरकै तापक्रम घटेको छ।

ठाउँठाउँमा वर्षा भएकाले अधिकतम तापक्रममा गिरावट आएको जल तथा मौसम विज्ञमान विभागले जनाएको छ।

विभागले शनिवार साँझ ६ बजे अद्यावधिक गरेको तापक्रमको विवरणअनुसार रेकर्ड ब्रेक गरेको नेपालगञ्जको तापक्रम ४१ दशमलव चार डिग्रीमा झरेको छ। यस्तै धनगढीमा ४० दशमलव सात डिग्री रहेको छ।

सोही दिन पोखरामा ३४ र काठमाडौंमा ३४ दशमलव चार डिग्री मापन भएको तापक्रम शुक्रबार बेलुका झरेर पोखरामा अधिकतम तापक्रम ३१ दशमल पाँच र काठमाडौंमा ३२ डिग्री रहेको छ।

जेठ १७ गते बिहीबार विराटनगरमा ४१ डिग्री तापक्रम मापन गरिएकोमा त्यो ३४ मा झरेको छ। त्यस्तै दाङको घोराहीमा ४० दशमलव दुई डिग्री रहेकामा ३५ दशमलव दुई डिग्रीमा झरेको छ।

नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा आज मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुइ स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैबीच मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भू-भाग, बंगलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जनाएको छ।

विभागले ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै “नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ। नेपालको पूर्वी भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ”, भनेको छ।

यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *