सुन्दरीजलबाट सुरु भयो वाग्मती बचाउ अभियान

डिसी नेपाल
२६ जेठ २०८१ २१:५७
36
Shares

काठमाडौं। सुन्दरीजलस्थित वाग्मतीको मुहान क्षेत्रबाटै सफाइ सुरु गरिएको छ। गुह्येश्वरीमाथिको वाग्मतीमा सफाइ गर्दै आएका अभियानकर्मीको समूहले आज मुहान क्षेत्रका फोहर टिपेर अभियान सुरु गरेका हुन्।

वाग्मतीको मुहान सफा नभए तल्लो भागमा जति सफाइ गरे पनि फोहर बढिरहने भएकाले यस क्षेत्रको सफाइ गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए। वाग्मती सफाइमात्र नभई वाग्मती बचाउ अभियान नै सुरु गर्नुपर्ने भन्दै उनले एक दशकअघिदेखि निरन्तर सफाइ भइरहेको बताए।

एक दशकअघिदेखिको अभियानले चेतना जगाए पनि फोहर आफैँले व्यवस्थापन गर्न अघि नसर्दा नदी फोहर हुने क्रम भने यथावत् रहेको अभियानकर्मीको भनाइ छ। गुह्येश्वरीमाथिको वाग्मती सफाइको आज पाँच सय ३८औँ हप्ता हो। अभियानले आजदेखि प्रत्येक हप्ताको शनिबार वाग्मती बचाउ अभियानका नाममा सफाइ जारी राख्न लागेको अभियानकर्मी भगवान् पुडासैनीले जानकारी दिए।

यसैगरी ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको पाँच सय ७८औँ हप्ताको सफाइ तीनकुनेस्थित वाग्मतीमा गरिएको छ। सफाइबाट नकुहिने साढे एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गरेको छ। सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सक्रियता रहेको थियो।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो। सफाइ महाअभियान सुरु भएको एक दशक पूरा हुँदा पनि वाग्मतीमा धेरै परिवर्तन आउन सकेको छैन। वाग्मतीमा काम गर्न स्थापित भएका संस्थालगायत सरोकार भएका निकायले काम नगरेसम्म स्वयंसेवी अभियानले मात्र केही हुन नसक्ने विश्लेषण हुन थालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *