बाल मन्दिर जग्गा हिनामिना प्रकरण : प्रहरीले नै फितलो बनाउँदैछ अनुसन्धान
काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरण अनुसन्धानमा नेपाल प्रहरी नरम देखिएको छ।
बृहस्पति विद्या सदनलाई लिज दिँदा संस्थालाई हानि-नोक्सानी हुने गरी सम्झौता गरेको आरोपमा पक्राउ परेका नेपाल बाल संगठनका पूर्वउपाध्यक्ष तुल्सीनारायण श्रेष्ठ हाजिर जमानीमा छुटेसँगै अनुसन्धानमा नेपाल प्रहरीले नरम नीति लिएको पुष्टि भएको छ।
श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार पक्राउ परेको थियो। पक्राउलगत्तै सरकारी वकिलको रोहबरमा बयान लिएर शुक्रबार नै हाजिर जमानीमा छाडेको छ। तर यसलाई प्रहरीले गोप्य राख्न चाहेको थियो।
सीआईबीले संगठनकी पूर्वअध्यक्ष रीता सिंह वैद्यसहित २० जनालाई अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला अदालतबाट अनुमति पाएको छ। अन्य आरोपीहरूको पनि बयान गराउनुपर्ने र हालसम्म अरु कोही पनि पक्राउ नपरेको कारण एक जनालाई मात्र थुनेर राख्दा अनुसन्धानको लागि हदम्याद लागू हुने भएकाले हाजिर जमानीमा छाडिएको प्रहरी स्रोतको दावी छ।
श्रेष्ठले अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको प्रहरीको भनाइ छ। उनलाई शुक्रबार नै बयानको काम सकेर हाजिर जमानीमा छाडेको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए।
बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ प्रहरीले बैशाख २७ मा पक्राउ पूर्जी लिएको थियो।
करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध लिएपनि श्रेष्ठ बाहेक कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन। पक्राउ गर्नु अघि नै उनीहरुलाई भगाउन प्रहरी कै केही अधिकृतहरु सहयोगी बनेको स्रोतको दावी छ। पक्राउ पुर्जी जारी भएका धेरै जसो नेपाल नभएको प्रहरीको दावी छ।
यसअघि नेपाल बाल संगठनले बृहस्पति विद्या सदनलाई ८२ वर्षका लागि यसअघि भएको लिज सम्झौता खारेज गरेको थियो। बाल मन्दिरको २९ रोपनी जग्गा बृहस्पति विद्या सदनलाई लिजमा दिने सम्झौता खारेज गरेको थियो।
बाल मन्दिरको २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई वि.सं. २१३१ सालसम्म लिज (सस्तो भाडा दर)मा दिने गरी भएको सम्झौता खारेज गरेपछि त्यहाँ बनेका संरचनाहरुको बारेमा के हुने हो भन्ने बारेमा कही कतै उल्लेख छैन।
संगठनकी अध्यक्ष विद्या न्यौपानेले लिज सम्झौता सकिन १७ वर्ष अवधि बाँकी छँदै थप ४३ वर्ष बृहस्पतिलाई दिने गरी पहिले भएको सम्झौता खारेज गरिएको बताएकी छिन्। खारेज मिति कहिलेदेखि लागू हुने भन्ने चाहि केही खुलाइएको छैन।
बृहस्पतिले संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहितका पदाधिकारी तथा स्वार्थ समूहको मिलेमतोमा २९ रोपनी जग्गा वार्षिक ९० लाख रुपैयाँमा भाडा बुझाउने गरी बिनाप्रतिस्पर्धा हत्याएको थियो।
बृहस्पतिले जग्गा लिजमा पाएपछि एउटै व्यवस्थापनबाट सञ्चालन हुने गरी भारतीय शिक्षा बोर्डअन्तर्गत सञ्चालित राय स्कुललाई भित्रायाएरु पाँच रोपनी सव लिजमा लगाएको थियो। त्यसबापत वार्षिक ६० लाख राय स्कुलबाट लिने गरी बृहस्पतिले सम्झौता गरेको थियो।
लिखितमा भने त्यो रकम १ लाखमा देखाइएको थियो। वि.सं. २०२१ साल मंसिरमा तत्कालीन सरकारले सीता भवन नामले चिनिएको उक्त परिसरको १ सय १९ रोपनी जग्गा राणा प्रधानमन्त्री भिमशम्शेरका खलकलाई मुआब्जा दिई अधिग्रहण गरेको थियो।
यसरी अधिग्रहण गरिएको जग्गा अनाथ र असहाय बालबालिकाको रेखदेख, शिक्षा र संरक्षणका लागि बाल संगठन खोली प्रयोग गरिएको थियो।
कसूर गर्ने ब्यक्तिहरु
-नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह
-नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ
-नेपाल बाल संगठनका तत्कालिन महासचिव गणेश भक्त श्रेष्ठ ।
-नेपाल बाल संगठनका तत्कालिन उपमहासचिव सुमन शाक्य ।
-नेपाल बाल संगठनका तत्कालिन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह ।
-नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव श्याम कुमार आले ।
-नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल ।
– नेपाल बाल संगठनका तत्कालिन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ ।
-नेपाल बाल संगठनका तत्कालिन महासचिव प्रचण्डराज प्रधान ।
-नेपाल बाल संगठनका तत्कालिन महासचिव रामकाजी कोने ।
-नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष योगेन्द्र बहादुर शाही ।
-नेपाल बाल संगठनका तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ ।
-वृहस्पति विद्यालय व्यवस्थापन प्रा. लि (बृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालिन अध्यक्ष चिरञ्जिवि तिवारी ।
– बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक प्रविण राज जोशी ।
– बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का तत्कालिन संचालक मुरारी निधि तिवारी ।
– बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का अध्यक्ष पुरुषोत्तम राज जोशी ।
-बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक श्रद्धा संघाई ।
-बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक अभिनव सिंघानिया ।
– बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक सिद्धार्थ केडिया ।
– बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक किर्ति प्रसाद पाण्डे ।







डिसी नेपाल







Facebook Comment