बूढापाकाको गुनासो- सडकले हाम्रा मौलिक सम्पदा मासिए

डिसी नेपाल
३० जेठ २०८१ १४:२८
96
Shares

बागलुङ। एक दशकअगाडिसम्म बागलुङका अधिकांश ठाउँमा मोटरबाटो पुगेको थिएन । जब स्थानीय तह स्थापना भयो त्यस यता सडक नपुगेको गाउँ–बस्ती छैन।

गाउँमा सडक नपुग्दा गाउँलेको यात्रा गोरेटो बाटोमै हुन्थ्यो। पछिल्लो समय गोरेटो बाटो प्रयोग हुन छाडेपछि झाडीले ढाकिएका छन् । यात्रा सहजताका लागि स्थानीयले जनश्रमदान गरी गोरेटो निर्माण गर्थे। अहिले त्यो चलन हराएको छ। ग्रामीण सडकले मान्छेलाई अल्छी बनाउनका साथै पुराना गोरेटो प्रयोगविहीन भएको तमानखोला गाउँपालिका–३ का मनबहादुर बुढाथोकीले बताए।

मोटरबाटोले टाढा–टाढा यात्रा गर्न र बजारबाट सामान ढुवानीका लागि धेरै सहज भएको भन्दै गोरेटो बाटो मासिएपछि गाउँको पहिचान नै मेटिने खतरा बढेको उनी बताउँछन्। पहिले सामान ढुवानी गर्न घोडा खच्चड प्रयोग गर्ने गरेको र अहिले गाडीमा ओसारपसार गर्न थालेको बुढाथोकी बताउँछन्। मोटरबाटोले गोरेटो बाटोसँगै कुवा, पोखरी, पानीको मुहान र चौपारी सबै विनाश गरेको गुनासो उनले गरे। गाउँमा जथाभावी सडक निर्माण गर्नु आवश्यक नभएको उहाँको भनाइ छ ।

“पहिले घण्टौँ हिँडेपछि गाडी चल्ने ठाउँमा पुगिन्थ्यो र पनि हामीहरु खुसी थियौँ, अहिले घरै अगाडि गाडी गुड्न थाले पनि खुसी छैनौँ, हरेक व्यक्तिलाई घर–घरमा सडक चाहिएको छ, त्यसले गर्दा हाम्रा मौलिक सम्पदा मासिए, गोरेटो बाटो गाउँले जीवनसँग जोडिएको मौलिकता हो”, बुढाथोकीले भने, “अव्यवस्थित विकासले गाउँको अस्तित्व नै सङ्कटमा परेको छ, गाउँमा एउटा सडक भए पुग्छ, अहिले जताततै मोटर बाटो मात्रै निर्माण भएका छन्, गोरेटो बाटो झाडीले ढाकिएका छन् ।”

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन पुग्न दशकअगाडि गोरेटो बाटोको विकल्प थिएन। अहिले सडकले गर्दा दर्जनौँ गोरेटो झाडीमा परिणत भएको स्थानीय तुलबहादुर सुनारले बताए। उतिबेला स्थानीय लेक बेँसी गर्दा र हजारौँको सङ्ख्यामा वस्तुभाउ ओहोरदोहोर गराउन प्रयोग गरिने बाटो अहिले सडकले पुरिएको उनको भनाइ छ। आफूहरु ११ दिन लगाएर बुटवल पुगेर नुन, चामल बोकेर उपभोग गरेको स्मरण गर्दै अहिलेका पुस्ता आधा घण्टाको दूरीमा पनि गाडी नै चढ्न चाहने सुनार बताउँछन्।

उनी भन्छन्, “अहिले जमाना फेरिए, हाम्रो पालाको जस्तो छैन, घर दैलोमै धेरै सुविधा आयो, टोलपिच्छे मोटर बाटो पुगे, त्यही भएर मान्छे एकै छिन पनि हिँड्न मान्दैनन्, पहिला हामी लेकबँेसी गर्ने बाटो अहिले कहाँ छन्, भेटिँदैनन्, कहीँ रूख बिरुवा उम्रिएका छन्, कतै काँडाले ढाकिएका छन्, कतै मोटेरबाटोले पुरेको छ, गोरेटोबाटो जोगाउनुपर्छ भन्नेमा कसैको ध्यान गएन, पहिला हामी हिँडेका ती बाटा कस्ता थिए, अहिले कस्ता भए ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *