ताप्लेजुङमा तीन दिनमै बाढीले पाँच जनाको ज्यान गयो, २३ वटा वडा पहिरोको उच्च जोखिममा

डिसी नेपाल
१ असार २०८१ ९:३१
68
Shares

ताप्लेजुङ। ताप्लेजुङ जिल्लामा मनसुन सुरु भएसँगै बाढीपहिरोको वितण्डा सुरु भएको छ। जेठ ३० गतेदेखि ३२ गतेसम्ममा जिल्लामा बाढी पहिरोमा परि पाँच जनाले ज्यान गुमाइ सकेका छन्।

पहिरोले पुरिएर जेठ ३० गते जिल्लाको सिरिजंघा गाउँपालिका-७ खेबाङमा निर्माणाधीन काबेली तेस्रो जलविद्युत परियोजनामा कार्यरत एक युवकको मृत्यु भएको थियो। पाँचथरको फिदिम नगरपालिका-१४ लुङपा घर भएका २५ वर्षीय सविन राईको खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७९६९ नम्बरको ट्रयाक्टर सडक माथिबाट झरेको पहिरोले बगाउँदा राईको घटनास्थल मै मृत्यु भएको हो।

त्यस्तै बिहीबार राति आएको बाढी र पहिरोका कारण फक्ताङलुङ गाउँपालिका-२ खेजेनिमका एकै परिवारका चार जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक रवि रावलका अनुसार गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बु (रविन) का बुबा वर्ष ७० रामबहादुर साम्रा लिम्बू, कान्छी आमा ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा बहिनीहरु गंगा र जमुनाको घर भन्दा माथिबाट आएको पहिरोले घर बगाउँदा घटनास्थल मै ज्यान गएको हो।

वडा नं. २ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईका अनुसार पहिरोले बगाएर लिम्बूको बाख्रा फर्म बगाउँदा दर्जनौं बाख्राको मृत्यु भएको छ। खेजेनिमकै गढी डाँडा टोलका योगेन साम्रा लिम्बूको घर पनि पहिरोले क्षतिग्रस्त बनाएको वडाध्यक्ष चौलागाईंले जानकारी दिए।

बिहीबार करिब १२ बजेतिर माथिदेखि आएको पहिरोले साम्राको घरलाई क्षति गरेको चौलागाईंले बताए। उनका अनुसार घर माथिदेखि पहिरो आएपछि साम्रासहित उनका परिवारका अन्य सदस्यले भागेर ज्यान बचाउन सफल भएका छन्।

उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार पश्चात घर पठाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक रावलले जानकारी दिए।

बुधबार रातभर परेको वर्षाका कारण फक्ताङलुङ गाउँपालिकामा अवस्थित तमोर नदीसहितका खोलामा लगाइएको ५ वटा अस्थायी काठेपुल बाढीले बगाएको थियो। बाढीले पुल बगाउँदा यातायात ठप्प भएको छ।

वर्षाका कारण तमोर नदीको छिरुवा र तापेथोक, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध बनेको हो।

यस्तै तापेथोकस्थित सिँसावा खोला तथा फुङ्लिङ नगरपालिका-१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका-३ लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा रहेको दुईवटा काठेपुल बाढीले बगाएको छ।

पालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार बाढीले काठेपुल बगाउँदा र ठाउँ-ठाउँको सडक खण्डमा पहिरो गएका कारण बिहीबार बिहानैदेखि यातायात सेवा अवरुद्ध बनेको छ।

त्यस्तै जिल्लाको सिरिजिङघा गाउँपालिका-४ खेसेवा टोलका सुरेन्द्र गुरुङ (लामिछाने)को घरमा माथिबाट आएको पहिरोले घरमा पुर्ण क्षति भएको तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए।

उनका अनुसार पहिरोमा परि एउटा भैँसी मरेको छ भने परिवारका सदस्य र चौपायालाई स्थानीयले उद्धार गरि सुरक्षित ठाउँमा सारिएको छ। घर बस्न नमिल्ने अवस्थाको भएको छ भने गाई गोठमा पुर्ण क्षति, भान्सा घरमा पुर्ण क्षति साथै १४-१५ रोपनी मकै जग्गामा क्षति भएको छ।

जिल्ला प्रसाशन कार्यालय ताप्लेजुङले दिएको जानकारी अुनसार जिल्लाको मिक्वाखोला गाउँपालिका-३ लिवाङमा रहेको माईक्रो हाइड्रोमा समेत क्षती भएको छ। यस अघि गत असार २ गते आएको बाढी र पहिरोले जिल्लामा ३ जनाको ज्यान गएको थियो भने तीन जना बेपत्ता भएका थिए भने लाखौँको भौतिक क्षति भएको थियो।

ताप्लेजुङमा जेठ ३० गते ३६.९ मिलिमिटर, जेठ ३१ गते १६.८ मिलिमिटर र जेठ ३२ गते २३.३ मिलिमिटर वर्षा भएको जल तथा मौसमविज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ।

ताप्लेजुङका ४१ वडा पहिरोको उच्च जोखिममा

ताप्लेजुङ जिल्लाभित्रका ६१ वडामध्ये ४१ वटा वडाहरू पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। समितिले बुलेटीन निकालेर नै उच्च जोखिम, मध्यम जोखिम र न्युन जोखिम वडाहरुको संख्या प्रकाशन गरेको छ।

जसअनुसार जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये ४१ वटा वडा पहिरोको उच्च जोखिममा र १८ वडा जोखिममा रहेको बताइएको छ। जिल्लाको फुङलिङ नगरपालिकाको वडा नं. १, ६, ९, ८, १० र ११ उच्च जोखिममा रहका छन् भने सिरिजङ्घा गाउँपालिकाको वडा नं. १, ५, ६, ७ र ८, सिदिङ्वा गाउँपालिकाको वडा नं. १, २, ३, ५, ६ र ७ पनि उच्च जोखिमा रहेको बताइएको छ।

त्यस्तै पाथीभरा याङवरक गाउँपालिकाको वडा नं. १, ३, ५ र ६, फक्ताङलुङ गाउँपालिकाको ७ वटै वटा, मिक्वाखोला गाउँपालिकाको १,२, ३ र ४, मेरिङदेन गाउँपालिकाको वडा नं. १, २ र ४, मैवाखोला गाउँपालिकाको वडा नं. २, ३, र ४, आठराई त्रिवेणी गाउँपालिकाको वडा नं. १, २ र ५ नम्बर वडा उच्च जोखिममा रहेको बताईएको छ ।

फुङलिङ नगरपालिकाको वडा नं. ३, ४ र ७, सिरिजंघा गाउँपालिकाको वडा नं. २, ३, र ४, सिदिङ्वा गाउँपालिकाको वडा नं.४, पाथीभरा याङवरक गाउँपालिकाको वडा नंं. २ र ४ पहिरोको मध्यम जोखिमा रहेको जनाइएको छ।

त्यस्तै मिक्वाखोला गाउँपालिकाको वडा नं ५, मेरिङदेन गाउँपालिकाको वडा नं. ३, ६ र ५, मैवाखोला गाउँपालिकाको वडा नं. १, ५ र ६ साथै आठराई त्रिवेणी गाउँपालिकाको वडा नं. ३ र ४ पहिरोको मध्यम जोखिममा रहेको जनाईएको छ। फुङलिङ नगरपालिकाको वडा नं. २ र ५ गरि दुई वटा वडा मात्रै पहिरोको न्युन जोखिम रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *