बाढीले १८ घर प्रभावित, नौ परिवारलाई सुरक्षित स्थानान्तरण
दमक। सोमबार रातिदेखिको वर्षाका कारण झापाका विभिन्न स्थानमा १८ भन्दा बढी घर परिवार प्रत्यक्ष प्रभावित भएका छन्। जिल्लाको दक्षिणवर्ती ग्रामीण क्षेत्रका स्थानीय बासिन्दा बढी प्रभावित भएका हुन्।
कचनकवल–५ खुट्टागञ्जका चार घर परिवार प्रभावित भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो ठाउँका कुञ्जी राजवंशीको तीन जनाको परिवार पूर्णरुपमा विस्थापित भएका छन्। उनीहरु स्थानीय प्रभा राजवंशीको घरमा आश्रय लिएर बसेका छन्।
स्थानीय देवी राजवंशी, कार्तिक राजवंशी र सञ्जय राजवंशीको परिवार डुबानका कारण जोखिममा परेका छन्। त्यसैगरी झापा गाउँपालिका–६ स्थित युवा टोलका चार परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। शरणामती बजार क्षेत्रबाट १४ किलोमिटर उत्तर पश्चिममा रहेका दिपक आचार्य, सीता दुलाल, प्रदीप सिंह र नवीन बराइलीको परिवारलाई स्थानीय केदार श्रेष्ठको घरमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
वर्षासँगै पहिरो जाँदा अर्जुनधारा–२ लाप्चेटारमा पुष्पा समाल मगरको घरमा क्षति पुगेको छ। सो घरका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए। अर्जुनधाराको वडा नं १ मा खानेपानीको मुहानमा क्षति पुगेको छ। वडा नं २ स्थित राते भन्ने ठाउँमा मदन भण्डारी राजमार्ग उत्तरतर्फका १० घर डुबानमा परेका छन्। वडा नं ३ मा सुखानी खोलाको कजवेमा क्षति पुगेपछि आवागमन बन्द भएको रेडक्रस झापाका सभापति ढकालले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment