तीन वर्षमा बन्ने भनिएको गेउरिया पुल १० वर्षसम्म पनि बनेन
पथरी। मोरङको कानेपोखरी रंगेली सडकअन्तर्गत गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन। कानेपोखरी गाउँपालिका–२ स्थित कानेपोखरी रंगेली सडकमा पर्ने गेउरिया खोलाको पुलबारे गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक विभागको टोलीले अनुगमन गरेर चाँडै काम सक्न निर्देशन दिएको थियो। निर्देशन दिएको चार महिना बितिसक्दा पनि पुलको निर्माण भने कछुवा गतिमा भइरहेको छ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा फिचर एन्ड सराउद्दिन जेवीले ठेक्का पाएको थियो। १५ मिटर लम्बाइ उक्त पुल रु एक करोड १८ लाखमा ठेक्का लागेको थिया तर अझै पुल कहिले सम्पन्न हुन्छ भन्ने टुंगो नरहेको स्थानीयको भनाइ छ।
स्थानीय पुन्यप्रसाद रिमालले उक्त स्थानबाट नौ वर्षको अवधिमा पाँचजनाभन्दा बढीले ज्यान गुमाइसकेका र धेरैजना घाइते भएका उल्लेख गर्दै वर्षातको समयमा थप जोखिम रहेको बताए। ‘हामीले समयमै पुल निर्माण गर्न जनप्रतिनिधिलगायत ठेकेदार तथा सरोकार भएकाहरुलाई ध्यानाकर्षण गरायौँ तर सुनुवाइ भएन। १५ मिटर पुलसमेत समयमै बनाउन नसक्नेले बाँकी काम कसरी गर्लान् आश्चर्य लागेको छ’, उनले भने।
अब पुलको बाँकी काम चाँडै सम्पन्न गर्न जनप्रतिनिधि र नागरिक जागरुक बन्नुपर्ने स्थानीयको भनाइ छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment