सशस्त्र प्रहरी बलः विपद्मा खोज तथा उद्धारदेखि राजस्व संकलन
धरान। जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरले विपद्मा खोज तथा उद्धार, चोरी तस्करी तथा लागुऔषध नियन्त्रण र विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको छ।
गत आर्थिक वर्षमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरले विपद् खोज तथा उद्धारका क्रममा कोशी प्रदेशका विभिन्न नदी र खोलामा डुबेका १० जना शव निकालिएको जनाएको छ।
विपद्मा फसेकाको खोज तथा उद्धारका लागि कोशी नदीमा नमूना अभ्यास गर्ने क्रममा डुबेका १३ जना र गत चैत २७ गतेदेखि बराहक्षेत्र चतराधाममा सञ्चालन भएको पूर्णमहाकुम्भ मेलामा फसेका १० जनाको जीवित उद्धार गरिएको कार्यालय प्रमुख सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए।
सोही अवधिमा कार्यालयले विभिन्न चोरी तथा अवैध सामान बरामदका शीर्षकमा प्रतिवादीलाई कारबाही गरी रु १७ करोड ९९ लाख १३ हजार चार सय नौ राजस्व संकलन गरेको बज्राचार्यले बताए।
जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरबाट खटिएको टोलीले जाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ प ७६१३ नम्बरको कारबाट रु एक करोड एक लाख, विशेष सुराकीका आधारमा हरिपुरबाट मकै भनी रु ४५ लाख ५० हजार बराबरको चिनीलगायत विभिन्न समयमा अवैध सामग्री बरामद गरिएको बज्राचार्यले जानकारी दिए।
गत आवमा एक सय १५ वटा सडक दुर्घटना हुँदा २७ को मृत्यु, दुई सय ११ जना घाइते भएका छन्। हेडक्वाटरले एक सय ४१ आगलागीका घटनालाई नियन्त्रण गरिएको जनाएको छ।
एक हजार तीन सय तीन किलो भन्दाबढी गाँजा, ब्राउन सुगर ५७ दशमलव ८३ ग्राम, ट्रामाडोल/ट्रामोल २३ हजार सात सय एक लागुऔषध बरामद गरिएको उपरीक्षक बज्राचार्यले जानकारी दिए। ‘सो क्रममा ४२ जनालाई पक्राउ गरी कारबाही गरेका छौँ’, उनले भने, ‘लागुऔषध ओसारपसारमा दुई एम्बुलेन्स, १२ मोटरसाइकल र एउटा अटोसहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएका छौँ।’
संकलन भएको रकम राजस्व कार्यालयलाई बुझाइसकिएको बज्राचार्यले बताए। कार्यालयले चोरीतस्करी तथा लागुऔषध नियन्त्रण र विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखी कार्य सञ्चालन गरिरहेको उनले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment