पशुपति क्षेत्रमा भगवान्लाई सम्झेर काम गर्नुपर्छ: पर्यटनमन्त्री पाण्डे

डिसी नेपाल
७ साउन २०८१ २३:३०
36
Shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्रमा भगवान्लाई सम्झेर काम गर्नु आग्रह गरेका छन्। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले आज यहाँको जानकारी लिने क्रममा कर्मचारीलाई सम्बोधन गर्दै पशुपति क्षेत्रमा संस्कारभित्र रहेर भगवान्लाई सम्झेर काम गर्नुपर्ने बताएका हुन्।

‘अन्यत्र र यहाँ काम गर्नुमा फरक हुन्छ, कामको जिम्मेवारी पाएपछि केही गर्नुपर्छ, नैतिकता इमान्दारिताभित्र रहेर काम गर्नुपर्छ, भारतमा नेपालबाट आएको भनेपछि पशुपतिप्रति आस्था, सम्मान गर्छन्, पशुपतिलाई विश्वमा चिनाउन पनि पारदर्शी तरिकाले काम गर्नुपर्छ’, मन्त्री पाण्डेले भने।

विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिलाई आध्यात्मिक स्थलका रुपमा परिचित गराउने गरी काम गर्नुपर्नेमा उनले जोड दिएका थिए।

मन्त्रालयका सहसचिव हेमराज तामाङले विश्वभरका अर्बौँ भक्तजनको आस्थाको केन्द्र पशुपति क्षेत्रका सम्पदालाई संरक्षण गर्नुपर्नेमा जोड दिए। यसका लागि मन्त्रालयका तर्फबाट सहयोग गर्ने उनको प्रतिबद्धता थियो।

कोषका सदस्य सचिव डा मिलनकुमार थापाले पशुपतिका बारेमा केही काम गर्दा उजुरी पर्ने गरेकाले काममा समस्या भएको बताए। काम गर्ने जनशक्ति कमीले पनि समस्या भएको उनको भनाइ थियो। पशुपति क्षेत्र र कोषको गतिविधिबारे उनले मन्त्री पाण्डेलाई जानकारी गराएका थिए।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपति क्षेत्रमा भएको पछिल्ला गतिविधिबारेमा परिचयात्मक प्रस्तुति गरेका थिए। साउनको पहिलो सोमबार आज बेलुकीसम्म पनि पशुपति क्षेत्रमा भक्तजनको घुइँचो लागेको थियो। आज सोमबारका अवसरमा लाखौँ भक्तजनले दर्शन गरेको कोषले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *