धुलिखेल नगरपालिकाद्वारा एक हजार आठ सय ४० जनालाई सीपमूलक तालिम प्रदान

५३० स्वरोजगार, १३० जनालाई उद्यमी बनाउन सफल

डिसी नेपाल
११ साउन २०८१ १२:५२
60
Shares

काभ्रेपलाञ्चोक। धुलिखेल नगरपालिकाले सीपमूलक तालिमपछि रोजगारको अवसर प्रदान गर्न थालेपछि युवाको आकर्षण बढ्न थालेको छ। नगरले वैदेशिक रोजगारयोग्य सीपमूलक तालिम एवं स्वरोजगारसहित उद्यमी बनाउन थालेपछि स्थानीयको आकर्षण बढ्न थालेको हो।

नगरले युवालगायतका परिषद्मार्फत नियमित रुपमा विभिन्न तालिम प्रदान गर्दै आएको छ। हालसम्म एक हजार आठ सय ४० लाई सीपमूलक तालिम, पाँच सय ३० लाई स्वरोजगार उपलब्ध गराउनुका साथै एक सय ३० लाई उद्यमी बनाइसकेको छ। नगर रोजगार संयोजक सम्झना नेपालका अनुसार दुई सय ४० युवालाई वैदेशिक रोजगारयुक्त सीपमूलक तालिम प्रदान गरिएको छ।

नगरप्रमुख अशोक ब्यञ्जुले युवालगायत परिषद् गठनगरी नगरले बेरोजगारीलाई रोजगार, सीप, उद्यामशीलता तथा क्षमता अभिवृद्धि तालिममा संलग्न गराई रोजगार उपलब्ध गराउने उद्देश्यले नियमित तालिम आयोजना गरिएको बताए। उनका अनुसार तालिम लिएकालाई पनि घर छाडेर अन्यत्र रोजगारी चाहेमा उपत्यकाका विभिन्न होटल तथा सङ्घसंस्थामा अवसर उपलब्ध गराइने तथा नगरभित्र रोजगार चाहनेलाई पर्यटकीयस्थल काभ्रेपलाञ्चोकको धुलिखेलका स्थानीय सेवा प्रदायक संस्थासँग समन्वय गर्ने काम भइरहेको छ।

सशक्तीकरण, उद्यमशीलता र सीपमूलक क्षेत्रमा उक्त सङ्ख्याका नागरिकलाई तालिम प्रदान गरेको नगरले जनाएको छ। नगरवासीलाई आधुनिक तरिकाले सीप सिकाएर आर्थिक रुपले सशक्त बनाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम प्रदान गरिएको जनाइएको हो।

विभिन्न क्षेत्रमा उत्पादनमूलक एवं रोजगारमूलक तालिम दिइ दक्ष जनशक्ति निर्माणका लागि तालिम प्रदान गरिएको ब्यञ्जुले बताए। उनका अनुसार नगर बेरोजगारी न्यूनीकरणगरी रोजगारी दिलाउन तथा आफैँ उत्पादनमूलक क्षेत्रमा लागि रोजगार सिर्जना गर्न विभिन्न आयमूलक र सीपमूलक तालिम उपलब्ध गराउने अभियानमा छ।

गत असार अन्तिम सातामात्रै नगरको समन्वयमा वेटर तथा हाउसकिपिङ तालिम सकेका ४८ लाई भक्तपुर र काठमाडौंका विभिन्न होटल तथा संस्थामा रोजगार दिइएको छ। रोजगार सेवा केन्द्रद्वारा वेटररवेट्रेस तथा हाउसकिपिङसम्बन्धी एक सय ६० घण्टाको सीप तथा क्षमता विकास तालिम प्रदानपश्चात् उक्त सङ्ख्यामा भक्तपुरको सुमेरु र काठमाडौँको हायात होटल तथा अन्य संस्थामा प्रशिक्षार्थी कामदारका रुपमा पारिश्रमिकसहित रोजगार प्रदान गरिएको जनाइएको छ।

यस्तै बेरोजगारीमा सूचीकृत परिवारका सदस्यलाई उक्त तालिममा सहभागी गराउँदै आएको छ । नगरले हरेक नागरिकलाई आफ्नो रुचिको क्षेत्र छनोटगरी सीप सिकेर उद्यमी तथा रोजगार बन्न हौसला दिँदै आएको छ। युवा परिषद्मार्फत बितेको आर्थिक वर्षमा पनि करिब दुई सय युवालाई बेकरी, मोबाइल मर्मत र ड्राइभिङसम्बन्धी तालिम प्रदान गरिएको परिषद् उपाध्यक्ष सिवी तामाङले बताए।

उनका अनुसार विशेषगरी युवा वर्गलाई सशक्तीकरण र सीप सिकेर आत्मनिर्भर बन्न सहयोग पु¥याउने उद्देश्यले चालु आवमा पनि फरकफरक तालिम आयोजना गरिने छ। परिषद्ले चालु आवमा आधारभूत तालिमपछि एड्भान्स–कोर्ष तालिम दिने योजना बनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *