देशभर मनसुनी वायुको प्रभाव: उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भू-भागमा सरदर स्थानको आसपास अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी र लुम्बिनी प्रदेशका सम्पूर्ण भू-भागका साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बदली रहेको छ।
मधेस प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकीका तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्नेछ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना कायम रहनेछ। पहाडी क्षेत्रका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णालीको पहाडी भागका साथै लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
भारी तथा धेरै भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment