नुवाकोटको भद्रुटारका दर्जनौँ घरपरिवार बाढी र पहिरोको जोखिममा, सयौँ रोपनी धानखेतमा बाढी पस्यो

डिसी नेपाल
१६ साउन २०८१ २०:२६
28
Shares

काठमाडौं। निरन्तरको वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ स्थित भद्रुटारमा बाढी र पहिराले लाखौँको क्षति गरेको छ।

वर्षासँगै स्थानीय खहरे खोलामा आएको बाढीका कारण त्यस क्षेत्रका एक दर्जनभन्दा पनि घरपरिवार जोखिममा परेका छन् भने सयौँ रोपनी धान खेत कटानको जोखिममा छ। त्यसैगरी बढीसँगै आएको पाँगो र गेग्र्यान माटो धान खेतमा थुप्रिएको छ।

खोलाले खेतीयोग्य जमिन कटान गर्नुका साथै आसपासका घर जोखिममा परेको र स्थानीय निरन्तर जोखिममा बस्नुपरेको प्रभावित पुरुषोत्तम सिटौलाले जानकारी दिए। उनले भने, ‘निरन्तरको वर्षासँगै आएको बाढीका कारण यहाँका दर्जनौँ घरपरिवार जोखिममा परेका छन्। यहाँको कैयौँ खेतीयोग्य जमिनमा कटानमा परेको छ भने केही दिनअघि रोपाइँ सम्पन्न गरेको धान खेतमा गेग्र्यान थुप्रिएको छ।’

उनका आफ्नोसँगै स्थानीय मिलन तामाङ, रामहरि खतिवडा, एकप्रसाद खतिवडा, पुरुषोत्तम खतिवडा, गायत्री खतिवडा, बद्री खतिवडा, कुलबहादुर तामाङ, गोकर्ण पौडेललगायत पहिरो र कटानको जोखिममा परेका छन्। उनीहरू खेतमा बाढी पसेको छ भने घर वरपरको जमिन कटान हुँदा जोखिम बढेको छ।

‘बाढी र पहिराले निम्त्याएको जोखिम र क्षतिबारे स्थानीय सरकारलाई जानकारी गराएका छौँ। वडाध्यक्षले प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ’, स्थानीय सिटौलाले भने, ‘खेतमा पानी लैजाने पक्की कुलो सबै खोलाले बगाएको छ। त्यतिमात्र होइन बस्ती नै जोखिमा रहेको छ।’

बस्तीमाथि हिउँदमा अन्धाधुन्ध ‘डोजर’ प्रयोग गरेर बाटो सडक खन्ने र राम्रोसँग तारजाली नबनाउने गरेका कारण तटीय क्षेत्रका बस्ती जोखिममा परेको प्रभावित बद्रीनाथ खतिवडाले बताए। उनका अनुसार स्थानीय ठाउँठाउँमा पहिराको जोखिम छ।

उक्त क्षेत्रमा जनताले खोला नियन्त्रण एवं पहिरो र बाढीबाट प्रभावितलाई राहत उपलब्ध गराउनुपर्नेमा माग गरेका छन्। यहाँका स्थानीयले बस्तीमाथि सडक एवं पूर्वाधार निर्माण गर्दा तटीय क्षेत्रको जोखिमलाई ध्यान नदिएको भन्दै विरोध गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *