विधिपूर्वक मनाइयो घण्टाकर्ण अर्थात् गठेमंगल

डिसी नेपाल
१८ साउन २०८१ १९:४३
32
Shares

काठमाडौं। प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठेमंगल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीका भित्री सहरमा मनाइएको छ। चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठेमंगल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउने गर्छन्। यसका साथै नेवार समुदायको बाहुल्यता रहेका सहर बजारमा पनि यो पर्व मनाइन्छ।

परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठेमंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाइ दोबाटो र चौबाटोमा उभ्याइने चलन छ। संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाइ दोबाटो र चौबाटोमा दिनभर राखिने गठेमंगल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरालगायत रोग नलाग्ने विश्वास रहेको बताउँछन्।

यसैगरी बिहानै स्नान, पूजापाठ गरी घर–आँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ। गोपाल वंशावलीअनुसार गठेमंगललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ। यस्तो परम्परा अहिले पनि राजधानीका तीनै सहर काठमाडौं, ललितपुर र भक्तपुरका भित्री भागमा छ। यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ भन्ने विश्वास छ।

आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण मान्छन्। आज विभिन्न धातुबाट बनेका औँठी किनेर लगाएमा नकारात्मक तत्वबाट शरीरलाई रक्षा गर्छ भन्ने विश्वास छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *