सरकारी सुविधा पाउँदै आएका आप्रवासी ट्रम्पको निशानामा, ग्रीन कार्ड प्रदान गर्ने नीति कठिन बनाउँदै
बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति ल्याउन लागेको छ।
सो नीतिले एक वर्षभन्दा बढी समय खानेकुरामा सहुलियत वा सार्वजनिक आवास सुविधा जस्ता सरकारी सहुलियत लिएका आप्रवासीलाई लक्षित गरेको छ। त्यस्ता आप्रवासी भविष्यमा पनि त्यस्तै सार्वजनिक सुविधामा निर्भर हुन सक्ने लाग्यो भने सरकारले तिनको निवेदन अस्वीकार गर्न सक्नेछ।
अधिकारीहरूका अनुसार यो नियमले आफैँ निर्भर हुन प्रोत्साहन गर्नेछ। ‘पब्लिक चार्ज रुल’ नामक नियम सोमवार संघीय रजिष्टरमा प्रकाशित भएको थियो। यो अक्टोबर १५ देखि लागु हुनेछ।
अमेरिकामा स्थायी बासिन्दाको हैसियत पाइसकेका आप्रवासीहरूलाई यो परिवर्तनले खासै असर गर्ने छैन। साथै शरणार्थी वा शरणका लागि निवेदन दिएकाहरूको निम्ति पनि यो लागु हुने छैन।
तर भिसा अवधि लम्ब्याउन, ग्रीन कार्ड तथा अमेरिकी नागरिकताका लागि निवेदन दिएकाहरूलाई यसले असर पार्नेछ। जसले आम्दानीको स्तर भेट्टाउन सक्दैनन् वा जो सरकारी सुविधामा निर्भर हुनसक्ने ठानिन्छन् तिनलाई भविष्यमा अमेरिका भित्रन रोक्न सक्नेछ।
अमेरिकामा रहिरहेकाहरूको हकमा तिनको निवेदन अस्वीकृत हुनसक्छ। अनुमानित २ करोड २० लाख मानिस जो कानुनी रूपमा अमेरिकामा बसिरहेका छन्, तिनको नागरिकता छैन।
तीमध्ये कैयौँलाई यो नियमले असर पार्न सक्नेछ। एक वक्तव्य जारी गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरूको हित सुरक्षा गर्न आप्रवासीहरू आर्थिक रूपमा आफैँ सबल हुनैपर्नै बताएका छन्। आप्रवासी अधिकारका वकालतकर्ताहरूले राष्ट्रपति ट्रम्पको प्रशासनलाई मुद्दा हालेर नयाँ नीति रोक्ने प्रयास गर्ने बताएका छन्।
आलोचकहरूले उक्त नीतिले कम आय भएका आप्रवासीहरूलाई अन्यायपूर्ण ढङ्गले निशानामा पार्ने बताएका छन्। न्यूयोर्क इमिग्रेसन कोआलिसन संस्थाका निर्देशक स्टिभ चोयले उक्त नीतिलाई चुनौती दिने जानकारी दिए।
उनले भने, ‘आप्रवासी समुदायलाई निर्दयी र त्रासपूर्ण ढङ्गबाट निरन्तर निशानामा पार्ने यो ट्रम्प प्रशासनले नियतवश गरेको काम हो। हामी यसविरुद्ध लड्नेछौँ। हामी कंग्रेसमा, अदालतमा तथा सडकमा यस विरुद्ध लड्नेछौँ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment