शंकरप्रसाद रिजालका दुई कविता

शंकरप्रसाद रिजाल
२६ असोज २०८१ ७:२९
76
Shares

दसैंको बलीको बोको

बलीको बोकोझैं तर्सिन्छ यो दुःखीको चोला
हत्केला पानीको छ्याप्दा कराउँदै त्यो कोलाकोला
चाड बाड घुमी आउँछ सारा देश रमाउँदै
छातीको मुटु कक्रक्कै गरीबको घाँटी निमाठिँदै

पैसा बर्सिन्छ नेतामा सुखी हुन्छन् सबै उनै
भ्रष्टाचार गरी रहन्छन् धनी बन्छन् सबै तिनै
दुःखी गरीब जनता मरेका छन् दिनदिनै
बलीको बोको झैं ती सारा तर्सिइ झसंगनै

माछा मासु खसी बोका धनीका घर डुल्दछन्
हाँस र कुखुरा च्यांग्रा किनिरहेछन् दिन गनी
बिचरा गरीबका ती घर आज सबै शून्य छन्
बलीको बोको झैं आज सबै गरीब दुःखी छन्

राजा राष्ट्रपति नेता टीका लगाउन व्यस्त छन्
बिचरा गरीब जनता यो चाडमा मौन छन्
छन् गेडी सबै मेरी छैनन् त कोही पनि
बिचरा गरीब जनता खान नपाइ केही पनि

राजा रंक दुवै एक भन्छन् ठूला पण्डित
वास्तविक हुँदो रहेनछ भनाइ कति खण्डित
झुठो यो संसारको चोला यो सबै भ्रमपूर्ण छ
धनी गरीब छुट्टिन्छ यो सबै यहाँ बुझ

धनी मातियो आज रक्सी मासुले दुवै
गरिब आत्तियो आज भोकै बस्दा खुबैखुबै
भाग्य होइन यसको फल त्यो त शून्यझैं सरी
कर्मपनि होइन है बिबेक छ सब थरी

बाँडेर खाऊँ लौ सबै भोका कोही न रहुन्
सबैको आङमा एक लुगा एकै रहिरहुन्
जमेर खाऊं लौ सबै दुःखी कोही हुँदै नहुन्
डटेर बसुँ लौ सबै भोका कोही हुँदै नहुन्

यो गरीब नामको शब्द संसारमा हुँदै नहोस्
सबैको फूल जीवनको बास्ना संसारमा फैलिरहोस्
दीगो बिकास सबैको हुँदै जाओस् जगतैभरी
संसार स्वर्ग झैं लागोस् सबैको मनको भरी

धनको महिमा र दोष

महिमा धनको हेर संसारमा कति कति
रमाएका सबै यसमा जे पाइन्छ जति जति
लागेका छन् सबै मानिस यो कमाउन जस्तरी
मरीमेटी कमाएका छन् पसिना चुहाई कस्तरी

सारा जीवन बितिजान्छ धन नै कमाउनमा
इच्छा ठूलो भई हाल्छ संसारै समाउनमा
समातिने त केही होइन खाली आफ्नो स्वबैभव
धनको महिमा हेर देख्दा यो छ गौरब

धनमा लिप्त को हुन्न शिव त्रिनेत्र नै खोलने
लक्ष्मी बैभब आफैं छिन पार्वतीसँग मिलने
धनको लोभमा पर्दा जुवा शिवलेपनि खेले
सबै थोक थापी हार्दा टाट पल्टी जिल्लमा परे

जुवा तास नफा हानि सुख दुःख ती सबै
धनैको बीच देखिन्छन सबैका गति ती खुबै
धेरै धनको लोभी आखिर दुःखी हुने उनै
राजा मिदासपनि रोएका थिए छोरी सुन बनी तिनै

टिक्दैन धनको दम्भ सारा यो जीवनभरी
डरले त्रास फैलिँदा जीवनै संकटमा परी
लुटी ठगेको धन कसको टिकेको कहाँ छ र?
इमानी धनको कर्म कसको कहाँ लुटिएको छ र?

सुनैका गहना लाउन बुद्धि छैन यदि भने
पहेँला रंगका ढुंगा सुनै सुनपनि बुझे
बुद्धि, बिबेक प्रज्ञानै धनका गुण हुन् बुझ
यसैले नै बढिहाल्छ धनको अति बैभब

बिचार धन हो शुद्ध जसले शुद्ध बनाउँछ
बुद्ध मन हो हेर जसले ज्योति फैलाउँछ
एक तिमी आफैँ हौ त्यसमा शून्य थपी गन
यसैमा शून्य थप्दै जाँदा सय हुन्छ मनमा गुन

यसरी नै धनको प्राप्ति गर्ने तिम्रो मति रहोस्
ठिक्क पुग्नेनै धन कमाउने मन सदा बनिरहोस्
जन्म मृत्यु जरा ब्याधी दुःखको यो जंजालमा
इच्छा धनको लोभ नबेलगाम होस् यो संसारमा

ऐश्वर्य धनको प्राप्ति रावणको पनि थियो
दम्भले कोप भर्दामा शिरैमा दम्भ बल्झियो
नराम्रो मनमा भर्दा सीता हरण गर्दियो
त्यो शेखी हर्नको लागि आफ्नो जीवन नष्ट भो

महिमा धनको थोरै लाग्छ यो कविको नजरमा
सबैको सद्बुद्धिको सार फैलियोस यो संसारमा
तसर्थ इच्छा धनको राख आफूलाई नै नपुरने
ठूलो सोच यो राख आफू त्यसबाट न बिग्रने




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.