सरकार विकास र समृद्धिको संकल्पका साथ अघि बढेको छ : प्रधानमन्त्री ओली

डिसी नेपाल
७ मंसिर २०८१ १५:३७
40
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर सरकार विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताएका छन्।

एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए।

उनले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने जनाउँदै देशको अधोगतिलाई माथि लान एमाले र नेपाली काङ्ग्रेसको सहयात्रा गरिएको बताए।

एमाले र कांग्रेस प्रतिष्पर्धी दल भए पनि अहिले देशलाई अराजकतातर्फ लान खोजेर लोकतन्त्रलाई समाप्त पार्न खोजिएपछि प्रतिष्पर्धा भन्दा एकतालाई महत्त्व दिँदै एक भएको उनले बताए।

यसबीचमा सरकारले बहुमत नपाउने, दसैं देख्न नपाउने, तिहारीपछि ढल्ने बताइएको भए पनि चलिरहेको बताउँदै उनले गठबन्धन २०८४ को निर्वाचनमै जाने दाबी गरे।

प्रधानमन्त्री ओलीले एमाले आज सत्ता र सडकमा पनि रहेको बताउँदै पूर्वजले बगाएको रगत खेर जान नदिने बताएका छन्। उनले एमाले देशको पहरेदारको रुपमा रहेको बताउँदै अहिलेको समीकरणलाई कसैले हल्लाउन नसक्ने जिकिर गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *