मानव तस्करीका आरोपित एमाले सांसद लीलावल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने निर्णय
काठमाडौं। कोशी प्रदेशका पूर्वमन्त्री तथा एमाले सांसद लीलावल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने भएको छ।
सरकारी वकिल कार्यालय काठमाडौंले अधिकारीलाई मुद्दा नचल्ने निर्णय गर्दै अन्य ११ जनाविरूद्ध मुद्दा दायर गरेको छ।
उनीहरूविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र लिखत सम्बन्धी कसुरमा सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको जिल्ला न्यायाधीवक्ता सीताराम अर्यालले बताए।
मुद्दा दायर भएकाहरूमा जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतम छन्। दिवाकरबाबु, विष्णुप्रसाद र गोपाल भने फरार छन्।
जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए। उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो।
अधिकारीको हकमा भने संलग्नता पुष्टि हुन नसकेकाले मुद्दा नचलाउने निर्णय गरिएको अर्यालले बताए।
अधिकारीले जापान पुगेर अध्यागमनलाई खबर गरेको देखिएको, प्रहरीका डिआइजीलाई खबर गरेको देखिएको, जापानबाट तीन जना प्रतिवादीविरूद्धको पत्र प्राप्त भएको देखिएको अर्यालले बताए।
अधिकारी गत कात्तिक २६ गते पक्राउ परेका थिए। पक्राउ भएका बखत उनले आफ्नो संलग्नता नरहेको भन्दै अनुसन्धानलाई सहयोग गर्न हिँडेको बताएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment