नवनियुक्त सेबोन अध्यक्षसामू चुनौतीका चाङ
काठमाडौं । एक वर्ष लामो रस्साकस्सीपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अध्यक्ष पाएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सन्तोष नारायण श्रेष्ठलाई सेबोन अध्यक्षमा नियुक्त गरेसँगै धितोपत्र बोर्डले अध्यक्ष पाएको हो।
नवनियुक्त अध्यक्ष मंगलबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ पनि दिइसकेका छन्। गत वर्ष पुस २० गते बोर्ड अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएसँगै उक्त पद रिक्त रहँदै आएको थियो।
पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा भाडाको घरमा रहेको सेबोनलाई आफ्नै भवनमा सार्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले प्रतिबद्ध भएर पुँजीबजारको विकासमा काम गर्ने प्रतिबद्धता जनाएका थिए।
‘नेतृत्व अभावमा धेरै काम थाँती छन्। रोकिएका सबै काम पूरा गर्ने छु। पुँजीबजारको दायरा विस्तारमा ध्यान दिने छु। म सधैँ लगानीकर्ताका पक्षमा काम गर्ने छु,’ उनले भने।
पदभार ग्रहण गरेपछि उनले पहिलो कामका रूपमा एभरेस्ट बैंकको बोनस सेयर दर्ता गर्ने फाइलमा हस्ताक्षर गरेका थिए।
तर, श्रेष्ठका लागि काम गर्न भने जस्तो सजिलो छैन। उनका अघि चुनौतीका चाङैचाङ छन्। आफ्ना प्रतिस्पर्धीलाई मिलाएर लैजानु, नेपाल स्टक एक्चेञ्जसँगको समन्वय, आफ्नै भवन बनाउनु, पुँजीबजारको दायर विस्तार गर्नु जस्ता थुप्रै चुनौती उनीसामू छन्।
नेप्से र धितोपत्र बोर्डबीच सुमधुर सम्बन्ध देखिँदैन। तत्कालीन अध्यक्ष रमेशकुमार हमालले नेप्सेको अधिकार नै कटौती गरेपछि सेबोन अध्यक्ष र नेप्सेका सीईओबीचको सम्बन्ध निकै बिग्रिएको थियो। नवनियुक्त अध्यक्ष श्रेष्ठ नयाँ स्टक एक्सचेञ्ज ल्याउने सर्तसहित बोर्डमा आएकाले त्यो सम्बन्धमा सुधार हुने देखिँदैन।
बजारमा सूचना र प्रविधिको विकास तथा इन्साइडर ट्रेडिङ नियन्त्रण, अर्थमन्त्रालय तथा कानुन मन्त्रालयबाट बोर्डलाई स्वतन्त्र बनाउनु र यसअघिका अध्यक्षले धितोपत्र बोर्डको जग्गा खरिदमा फसाएको करोडौं रुपैयाँको टुंगो लगाउनु पनि उनीसामू चुनौतीका रूपमा देखिने छन्।
श्रेष्ठले आगामी कदम कसरी चाल्छन् भन्ने हेर्न बाँकी छ। उनी सत्तारुढ दल नेपाली कांग्रेस निकट मानिन्छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment