जलवायु परिवर्तनले लोप हुँदै लालुपाते

डिसी नेपाल
२८ मंसिर २०८१ १०:१७
48
Shares

गलेश्वर । चौत–वैशाखमा लालीगुराँस फुलेर वनजंगल राताम्मै देखिएजस्तै मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा केही वर्षयता लालुपाते फुल्न छाडेको छ।

जलवायु परिवर्तनका कारण माटोमा अम्लियपना बढ्दै जाँदा लालुपातेलगायतका अन्य मौसमी फूलहरू हराउँदै जान थालेका स्थानीयले बताएका छन्। तापक्रम वृद्धिको असरका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा धेरै असामयिक परिवर्तन देखिन थालेका वन र वातावरणको क्षेत्रमा काम गर्दै आएको पुष्पराज अधिकारीले बताए। उनका अनुसार फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्तो समस्या देखिएको हो।

तीन–चार वर्षअघिसम्म जिल्लाका बावियाचौर, अर्मन, बगरफाँट, ज्यामरूककोट, शिख, हिस्तान, भकिम्ली, गौश्वारा, मराङलगायत क्षेत्रमा रहेका लालुपातेका बोटमा अहिलेसम्म फूल फुलेको छैन।

‘यो समय लालुपातेका रूखमा फूल फुलेर राताम्यै देखिनुपर्ने हो, तर अहिले त पात मात्र देखिन्छन्, फूल फुलेकै छैन’, मङ्गला गाउँपालिका–२ का हरिकृष्ण पौडेलले बताए।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको छ। माटोमा अम्लियपना बढेका कारण जिल्लामा बाली पाक्ने र फूल लाग्ने समय पछि धकेलिँदै गएको हुनसक्ने कृषि प्राविधिक जगत् बानियाँले बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *