सेनाले भन्यो– कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्

डिसी नेपाल
१३ माघ २०८१ २३:२३
668
Shares

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा अफ्रिकी मुलुक कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सकुशल रहेका छन्।

त्यहाँ एक स्थानमा गण, अर्काेमा इन्जिनियरिङ कम्पनी र तेस्रो स्थानमा क्विआरएफ फोर्ससमेत हाल एक हजार १३० नेपाली शान्ति सैनिक परिचालित रहेका र ती सबै सुरक्षित रहेका नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए।

उनले भने, “हाम्रो शान्ति सैनिकको टोली सुरक्षित छ। त्यहाँको गोमा भन्ने स्थानमा पर्यवेक्षक (अब्जर्भर) रहेको क्षेत्रमा भने केही तनाव छ। तत्काल आवश्यक नपर्ने जनशक्तिलाई त्यहाँबाट राष्ट्रसंघले अन्यत्र सुरक्षित स्थलमा सारेको छ।”

नेपाली शान्ति सैनिक परिचालित रहेको स्थानमा हालसम्म त्यस्तो जटिल अवस्था नरहे पनि समग्र अवस्थाको विश्लेषणबाट परिस्थिति भने त्यति सहज नरहेको प्रवक्ता केसीको भनाइ छ।

विकसित घटनाक्रमका आधारमा राष्ट्र संघको निर्देशनअनुरूप थप सुरक्षा व्यवस्थापन गरिने जानकारी दिइएको छ।

केही दिनअघिदेखि त्यहाँ ‘एम ट्वान्टी थ्री’ नामक विद्रोही समूह बढी सक्रिय रहेको छ। उक्त समूहसँगको भिडन्तमा संयुक्त राष्ट्र संघको आह्वानमा दक्षिण अफ्रिकासहितका मुलुकबाट खटिएका केही शान्ति सैनिकको क्षति भएको बताइएको छ। रासस

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *