काठमाडौंमा चोरी गर्दै हिँड्ने तीन जना पक्राउ
काठमाडौं । सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२९ घर भई हाल बसन्तपुर बस्ने ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौती–१ घर भई बसन्तपुरबस्ने कोमल बहादुर कार्की र भारतको कलकत्ता प्रदेश घर भएका ५८ वर्षीय जागिर मलिक छन्।
यसअघि नरेन्द्र देउला पाँच वटा चोरी मुद्दा र एउटा ज्यान मुद्दामा पनि संलग्न भएर कारागार र धरौंटीमा छुटेको पनि प्रहरीले जनाएको छ।
उनीहरूले माघ २६ गते डल्लु बस्ने ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने दोलखाको फस्कु शैलुङ नगरपालिका–७ की सुनिता ठकुरीको डेराबाट सुनको गहरगहना चोरी गरेको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट प्रहरीले सुनको नेक्लेस एक, सुनको सिक्री एक, सुनको औठी एक, गालेको सुन एक ढिका, सुनको तिलहरी एक, सुनको कल्ली एक, सुनको झुम्का एक, सुनको मंगलसूत्र, सुनको मंगलसुत्रका टुक्रा ७ वटा र सुनको सिक्का एक गरी लगभग ११ लाख २३ हजार बराबरको सामान बरामद गरेको छ।
पक्राउ परेका उनीहरूमाथि प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment