भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

डिसी नेपाल
३० माघ २०८१ ६:४१
40
Shares

काठमाडाैं। प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छायाँ दर्शन पर्व मंगलबार पशुपति क्षेत्रमा विशेष रुपमा मनाइएको छ।

सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थाली हिउँद ओरालो लाग्दा यो पर्व मनाउने गरिन्छ। यस दिन पशुपतिनाथ मन्दिरमा विशिष्ट अर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिव लिंगको छायाँ दर्शन गराउने चलन छ।

पशुपति क्षेत्र विकास कोषको आयोजनामा स्थानीय नेवा समुदायका भक्तजनले पशुपतिनाथको शिव लिंगको पूजा गर्ने र नयाँ मुकुट पहिराउने चलन छ। यसरी पूजा अर्चना सकिएपछि मन्दिरको दक्षिणपट्टिको चोकमा जल भरेर शिव लिंगको छाया प्रतिविम्बित गराई त्यस स्थानमा आउने भक्तजन तथा तीर्थयात्रीलाई दर्शनको प्रबन्ध मिलाइन्छ।

यस दिन पशुपतिमा विशेष रहन्छ। आराध्यदेवको प्रतिमाको छाया हेर्न भक्तजनको घुइँचो लाग्छ । यसरी छायाँ दिउँसोदेखि साँझको आरती अघिसम्म हेर्न पाइन्छ। हजारौं भक्तजनले लाम लागेर पशुपतिनाथको छायाँ दर्शन गरेको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले जानकारी दिए।

सनातन सभ्यताको केन्द्रबिन्दुका रुपमा इतिहास बोकेको विश्वभरिका हिन्दूको आराध्यदेव पशुपतिनाथमा छायाँ दर्शन हेर्न हजारौँ भक्तजन भेला भएका थिए। पशुपति क्षेत्र देवपतन, जयबागेश्वरी, गौरीघाट, चाबहिल, कुटुम्वाहल, सिफल, गौशाला, पिंगलास्थान र श्लेष्मान्तक वन आसपासको विशाल क्षेत्रमा फैलिएको छ।

सनातनदेखि पवित्र वाग्मती नदीको प्रवाहले सिञ्चित पाशुपत क्षेत्रभित्र करिब चार सय ९२ साना ठूला विभिन्न शैलीका मन्दिर, सत्तल, ढुंगेधारा, देवालय, मठलगायत करिब एक हजार शिव लिंग रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *