पशुपतिमा महाशिवरात्रीको तयारी अन्तिम चरणमा

डिसी नेपाल
१२ फागुन २०८१ १६:५८
84
Shares

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

महाशिवरात्रीको पूर्वसन्ध्यामा सोमबार पशुपतिमा पत्रकार सम्मेलन गर्दै कोषले विभिन्न उपसमितिमार्फत महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।

पशुपतिनाथ क्षेत्रको सरसफाई, सजावट , भक्तजनलाई सहज रुपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्था लगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कोषले जनाएको छ। महाशिवरात्रि पर्वलाई व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा ‘महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति-२०८१’ गठन भई सो मूलसमिति अन्तर्गत १० वटा विभिन्न विषयगत उप–समितिहरुको गठन भइसकेको कोषको भनाइ छ।

महाशिवरात्री पर्वलाइ सुरक्षित र मर्यादीत बनाउन नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्र समेतबाट सुरक्षा जनशक्ति परिचालन गरिने बताइएको छ।

त्यस्तै नेपाल स्काउट, लायन्स क्लब, विश्वहिन्दु युवा परिषद् आदि स्वयंसेवी संस्थाहरु मार्फत पर्याप्त संख्यामा स्वयंसेवकहरु परिचालित हुनेछन् भने पशुपति प्रवेशका लागि चारवटा प्रवेशद्वारबाट प्रवेश, दर्शन-पूजन, चन्दन ग्रहण, बहिर्गमन एवं रात्रिकालिन अर्चनाको व्यवस्था मिलाइएको कोषका परिषद् सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक राजुकुमार खत्रीले जानकारी दिए।

त्यस्तै पाशुपत क्षेत्रमा माँस, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण–बिक्रि वितरण तथा ओसार पसार नगर्न/नगराउन समेत कोषले सचेत गराएको छ। शिवरात्रीका अवसरमा यस वर्ष पाँच लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ । महाशिवरात्री मनाउन पशुपतिनाथ मन्दिरमा विभिन्न देशबाट साधुसन्तहरुको समेत आगामन भइसकेको कोषले जनाएको छ।

यस वर्षको महशिवरात्री फाल्गुन १४ गते बुधबार मनाइँदैछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *