ग्यास वितरण सहज बनाउन मन्त्री यादवको पहल : ‘क्विक रेस्पोन्स’ मार्फत दैनिक २०० भन्दा बढी गुनासो सम्बोधन

डिसी नेपाल
२२ साउन २०८३ १६:३९

काठमाडौं । उपभोक्तालाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘क्विक रेस्पोन्स’ प्रणालीलाई प्रभावकारी बनाएको छ। ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्या तत्काल समाधान गर्न मन्त्रालयदेखि नेपाल आयल निगमसम्मका कर्मचारी सक्रिय रूपमा परिचालन भएका छन्।

उपभोक्ताका गुनासा तत्काल सुन्ने र समाधान गर्ने उद्देश्यले नेपाल आयल निगमको कार्यालयबाटै कर्मचारीहरू खटिएर गुनासो सुनुवाइ तथा समन्वय गरिरहेका छन्। पछिल्लो समय ग्यास वितरणसँग सम्बन्धित दैनिक २ सयभन्दा बढी गुनासा सम्बोधन भइरहेको जनाइएको छ।

मन्त्रालय र निगमको समन्वयमा उपत्यकामा ग्यासको आपूर्तिलाई समेत तीव्र बनाइएको छ। हाल उपत्यकामा मात्रै एक दिनमा करिब ४० हजार सिलिन्डर ग्यास वितरण भइरहेको छ। मागअनुसार आपूर्ति व्यवस्थापन गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने प्रयास भइरहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई ग्यासका लागि समस्या र सास्ती नहोस् भन्ने उद्देश्यले आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायलाई निरन्तर निर्देशन दिँदै आएकी छन्।

मन्त्री यादवको निर्देशनपछि मन्त्रालय र निगमका कर्मचारीबीच प्रत्यक्ष समन्वय बढाइएको छ। ग्यास आपूर्ति तथा वितरणमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्ने गरी ‘क्विक रेस्पोन्स’ संयन्त्रलाई सक्रिय बनाइएको हो।

उपभोक्ताबाट प्राप्त गुनासो सुन्ने, सम्बन्धित ग्यास उद्योग तथा विक्रेतासँग समन्वय गर्ने र आवश्यकताअनुसार आपूर्ति व्यवस्थापन मिलाउने काम भइरहेको छ। यसबाट ग्यास वितरणमा देखिएका समस्या क्रमशः समाधान हुँदै गएको मन्त्रालयको भनाइ छ।

सरकारले ग्यासको आपूर्ति र वितरणलाई थप व्यवस्थित बनाउँदै उपभोक्ताले सहज रूपमा ग्यास पाउने अवस्था सुनिश्चित गर्न निरन्तर अनुगमन र समन्वयलाई प्राथमिकतामा राखेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *