भद्रपुर झापा गोल्डकपको उपाधि भद्रपुर ब्लेजर्सलाई
भद्रपुर(झापा)। दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को उपाधि आयोजक भद्रपुर ब्लेजर्सले जितेको छ।
मेची रंगशालामा आज भएको खेलमा झापा-११ लाई २-० को अन्तरले पराजित गर्दै ब्लेजर्सले उपाधि जितेको हो। उपाधिसँगै ब्लेजर्सले रू १३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। यस्तै, उपविजेता झापा-११ ले रू सात लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
भद्रपुर ब्लेजर्सका लागि कप्तान आशिष चापागाईँ र सत्यम शर्माले गोल गरे। खेलको ३०औँ मिनेटमा गोल गर्दै चापागाईँले ब्लेजर्सलाई १-० को अग्रता दिलाए। यसैगरी दोस्रो हाफको इन्जुरी समयमा खेल सकिनै लाग्दा शर्माले गोल गर्दै ब्लेजर्सलाई २-० को जित दिलाए। झापा-११ ले खेल अवधिभर पाएका केही अवसरलाई गोलमा परिणत गर्न नसकेपछि उपविजेतामा चित्त बुझाउनुपर्यो। आजको खेलको प्लेयर अफ द म्याच ब्लेजर्सका विशाल दर्जी भए। उनले ट्रफीसहित नगद रू २१ हजार प्राप्त गरे।
गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी भद्रपुर ब्लेजर्सका आशिष चापागाईँ भए। उनले रू एक लाख पाँच हजार नगदसहित ट्रफी प्राप्त गरे। प्रतियोगिताको उदीयमान खेलाडी ब्लेजर्सका राजेश शाह, उत्कृष्ट गोलकिपर ब्लेजर्सका टेकेन्द्र थापा, उच्च गोलकर्ता ब्लेजर्सका सत्यम शर्मा, उत्कृष्ट प्रशिक्षक ब्लेजर्सका सचिन्द्र धिमाल भए । उनीहरू सबैले ट्रफीसहित नगद रू २५ हजार प्राप्त गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment