‘बी’ डिभिजिन लिग फाल्गुन २५ गतेबाट
काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजिन लिग फाल्गुन २५ गतेबाट सुरु हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाल्गुन २५ गतेबाट दशरथ रंगशालामा ‘बी’ डिभिजिन लिग सुरु हुने जनाएको हो । सिंगल राउन्ड रोविनका आधारमा कुल ९१ खेल हुने एन्फाले जनाएको छ।
लिगमा देशभरका १४ क्लबले सहभागिता जनाएका छन्। सहभागी हुने टोलीमा आरसीटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, व्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युथ क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ व्वाइज युनाइटेड रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख पाउनेछन्। तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। फेयर प्ले टीम र सर्वोत्कृष्ट खेलाडीलाई समान एक लाख प्रदान गरिने छ भने उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ५० हजार पाउने प्रवक्ता शाहले जाननकारी दिए।
प्रतिगोगिताको टिकट दशरथ रंगशालामा सामान्यतर्फ १००, भीआईपीतर्फ ३०० र एन्फा कम्प्लेक्स सातदोबाटोमा सामान्य १०० कायम गरिएको छ। प्रतियोगिताको कुल बजेट ३ करोड ९३ लाख एक हजार ८१३ रुपैयाँ रहेको एन्फाले जनाएको छ।







डिसी नेपाल







Facebook Comment