अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती
फिक्कल (इलाम) । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ। हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती सुरु गरेका हुन्।
हात्तीढुङ्गे कृषक समूहका अध्यक्ष प्रेमकुमार राईका अनुसार वार्षिक २५ हजार भाडा तिर्नेगरी भिरालो जग्गामा तरुलखेती सुरु गरिएको हो। समूहलाई माङसेबुङ गाउँपालिकाले एक लाख सहयोग गरेको छ। माङसेबुङ गाउँपालिकाले परम्परागत कन्दमूलखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत उक्त रकम उपलब्ध गराएको हो।
किसान समूहले वनतरुलसँगै गिठा र भ्याकुरको समेत खेती गर्दै थालेको छ। हाल बगानमा १६ हजार बोट वनतरुल, चार सय ५० बोट भ्याकुर र एक सय ५० बोट गिठा हुर्र्काएको छ। तीन वर्षपछि मात्र तरुल उत्पादन हुने जनाइएको छ। खेती विस्तारका लागि बीउ जङ्गलबाट नै सङ्कलन हुने गरेको छ।
गहिरो खाल्डो खनेर प्रशस्त मल राखेर एकपटक बीउ रोपेपछि पटकपटक रेखदेख गर्नु नपर्ने भएकाले तरुलखेती अन्य खेतीभन्दा सजिलो भएको उनले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment