देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी

डिसी नेपाल
२२ साउन २०८३ ६:३४

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।

हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने मधेस प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भेगमा आंशिक बदली छ। यस्तै, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ। त्यसैगरी राति पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना कायमै रहनेछ भने हिमाली भागमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता विपद्को जोखिम बढ्न सक्ने भएकाले महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक सूचनातर्फ सजग रहन र आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *