युनियनका कारण टेलिकम धरापमा पर्दैछः मन्त्री बाँस्कोटा

डिसी नेपाल
९ भदौ २०७६ १७:२७

भैरहवा। सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारी सङ्गठनको राजनीतिक अराजकताका कारण नेपाल टेलिकमले सोचेजस्तो प्रगति गर्न नसकेको बताएका छन्।

नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय रुपन्देहीको निरीक्षणमा भैरहवा पुगेका मन्त्री बाँस्कोटाले युनियनतन्त्रका कारण नेपालका रहेका ठूला प्रतिष्ठान धराशायी बनेको भन्दै टेलिकमलाई पनि धराशायी पार्ने खेलमा केही कर्मचारी सल्बलाएको बताए।

दुई वर्षदेखि कुनै परियोजना नआएको टेलिकममा अब एकैचोटि नौ परियोजना अगाडि बढेको जानकारी दिँदै उनले यसको कार्यान्वयनमा सहयोग गर्न कर्मचारीलाई निर्देशन दिए। “नेपाल टेलिकमले आफ्ना सबै कर्मचारीलाई तलबभत्ता दिएकाले यसको विकासमा सहयोग नपु-याउने र व्यक्तिगत कमाइमा लाग्ने कर्मचारीलाई सरकारले कार्वाही गर्छ ”, मन्त्री बाँस्कोटाले बताए।

साविकको पश्चिमाञ्चल विकास क्षेत्रका लुम्बिनी, गण्डकी र धवलागिरि अञ्चलका १६ जिल्लाको क्षेत्रीय कार्यालय रहेको नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवामा उपस्थित भएका मातहतका कार्यालय प्रमुख र कर्मचारीलाई मन्त्री बाँस्कोटाले जनमुखी भएर काम गर्न निर्देशन दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *